काठमाडौ, २६ असोज । नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रम र यसको परम्परालाई नेपालका शीर्ष नेताहरुले राजनीतिक सद्भाव कायम गर्ने उपयुक्त माध्यम भनेर प्रशंसा गर्नुभएको छ ।
मित्र राष्ट्रका राष्ट्रपति सी जिनपिड.लाई बिदाई गरी चियापानमा सरिक हुन पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक परम्पराहरुले समाजमा अनुशासन कायम राख्दै सबैको सम्मान र सत्यको जितको सन्देश बोकेकाले राम्रा कुरालाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
नेपाली कांग्रेसले आईतबार सानेपास्थित पार्टी कार्यालयमा गरेको चियापान समारोहमा बिजया दशमी, दिपावली तथा छठको शुभकामना दिदै उहाँले वैचारिक मतभेद रहेता पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंगको सम्बन्ध ४५ वर्ष देखिको आत्मीय सम्बन्धलाई यस चियापानले संझाएको प्रसंग उल्लेख गर्नुभयो।
उहाँले चाडपर्वले आपसी सम्बन्धलाई भावनात्मक रुपमा नजिक ल्याउन मद्दत गर्ने बताउदै उहाँले संस्कृतिका नाममा गलत परम्परालाई परित्याग गर्दे राम्रा कुरालाई अबलम्बन गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताउदै यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप घनिष्ट बनाउने विश्वास आफुले लिएको उल्लेख गर्नुभयो। उह्ाँँले राष्ट्रपति सीले आफूलाई चीन भ्रमणको निम्तो दिएको र आफूले अनुकूल समयमा आउने वचन दिएको बताउनुभयो ।
चियापान समारोहमा सरिक हुन पुग्नुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले स्थापित गरेको चियापान कार्यक्रम राष्ट्रिय राजनीतिक संस्कृति जसरी स्थापित भएको बताउनुभयो। उहाँले चियापान कार्यक्रमलाई आफूले परिर्वतनको सहयात्रीहरुको बीचको शुभकामनाको रुपमा लिएको र सहयात्रीकै बीचमा आएको अनुभव भएको बताउनुभयो ।
‘नेपाली कांग्रेसको यो शुभकामना आदान प्रदान कार्यक्रममा आउँदा मलाई सहयात्रीहरुकै बीचमा आएको महसुस हुन्छ’, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, ‘तपाईहरुसँग आउँदा सहयात्रीहरुसँग कै भेटघाटमा आएको महसुस हुन्छ। हेर्दै जाऊ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ।’
उहाँले अगाडि थप्नुभयो, ‘मलाई विश्वास छ हाम्रो सहयात्रा जारी रहने छ। हाम्रो एकता र शान्ति प्रतिको संकल्प जारी रहनेछ। सहयात्रीकै रुपमा हामी निरन्तर अघि बढीरहन्छौ।’
‘दुई तिहाईको सरकार छ कस्तो सहयात्राको कुरा हो?’ भन्ने संचारकर्मीको प्रश्नमा उहाँले ‘अहिले दुई तिहाइको कुरा नगरौ ‘भन्ने जवाफ दिनुभएको थियो ।
नेकपाका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता र प्रतिपक्षीहरु सामाजिक कार्यक्रममा सहभागी हुने संस्कृति ‘नेपाली राजनीतिको सुन्दरपक्ष ‘भएको बताउनुभयो । विदेशमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुबीच बोलचाल पनि नहुने अवस्था देखिएको भन्दै उहाँले नेपालमा भने सांस्कृतिक कार्यक्रमहरुमा एकसाथ भेला हुने संस्कृति नेपाली राजनीतिको राम्रो पक्ष भएको बताउनुभयो।
उहाँले चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भव्य र शानदार भएको दाबी गर्दै भ्रमणका क्रममा पर्यटन र उर्जाको विकास गर्ने सम्बन्धमा भएको सम्झौता दुवै देशको हितमा रहेको विचार राख्नुभयो ।
समाजवादी पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले लोकतन्त्रको सवालमा आफूहरु सधै कांग्रेससंग सहकार्य गर्न तयार रहेको बताउनुभयो। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सफल रहेको भन्दै उहाँले दुवै सरकारलाई धन्यवाद र बधाई पनि दिनुभयो। उहाँले भ्रमणको सफलतालाई ‘मामाको कोसेली’को रुपमा विश्लेषण गर्न नहुने टिप्पणी गर्नुभयो।
उहाँले भन्नुभयो ‘हाम्रा विदेशी पाहुना आउँदा खाली केटाकेटीमा मामा आउँदा के ल्याईदिए ? के कति मिठाई दिए ? कति दक्षिणा दिए? भने जस्तो सोच हामीले राख्नुहुदैन। मित्रराष्ट्रहरुसँगको सम्बन्ध भनेको राजनीतिक र समग्र सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्छ। चीन सदैव हाम्रो मित्रराष्ट्र रहदै आएको छ।’
कार्यक्रममा सहभागी हुन पुग्नुभएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा राजनीतिक परिर्वतन ल्याउने समयमा भएको दलहरुबीचको सहकार्य र एकतालाई अहिले पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले प्रतिपक्षी दलले राष्ट्रिय मुद्धाहरुमा सरकारसँग सहकार्य र एकता गरेर आर्थिक सम्मृद्धिको लक्ष्य हासिल गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो।



















