काठमाडौं, ८ कार्तिक। नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्रीशेरबहादुर देउवाले दुई तिहाईको दम्भले चलेको कम्युनिष्ट नेतृत्वको वर्तमान गठबन्धन सरकारले संगठित रुपमा लोकतन्त्रमाथि आक्रमण गर्न थालेको बताउनुभएको छ ।
नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज मनमैजुमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले ७ दशक लामो अनवरत लडाइँ, सङ्घर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रलाई सरकारले नै कमजोर पार्न थालेकोले त्यसको रक्षा गर्नुपर्ने बताउनुभयो।
“सरकारले लोकतन्त्रमाथि नियोजित तवरले निरन्तर आक्रमण गरिरहेको छ, लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ”, उहाँले भन्नुभयो।
पूर्वप्रधानमन्त्री देउवाले नेपाली जनताको संघर्ष र बलिदानले बनेको वर्तमान संविधानको अक्षर र भावनाविपरीत जनताको अधिकारलाई सरकारले कुण्ठित गर्न खोजेको आरोप लगाउनुभयो ।

कम्युनिष्टहरुबाट प्रजातन्त्रको संरक्षण र संबर्धन हुन नसक्ने बताउदै त्यसको लागि नेपाली कांग्रेसको सरकार अपरिहार्य भएको बताउनु भयो । उहाँले कम्युनिष्ट सरकारको जनविरोधी क्रियाकलापले जनता दिक्क भएको बताउदै आगामी निर्वाचनमा बहुमत ल्याएर कांग्रेसको सरकार बनाउन पार्टीमा अपूर्व एकता चाहिएको बताउनुभयो ।
कार्यक्रममा काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिपीको विचार नै मुलुकको विकासका लागि महत्वपूर्ण विचार भएको उल्लेख गनुभयो। “काङ्ग्रेस रुपान्तरणका लागि जागरण अभियानले महत्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो।
प्रवक्ता शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी काङ्ग्रेस सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो।
कार्यक्रमा सांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुटउपगुट अन्त्य भएमा आगामी निर्वाचनमा काङ्ग्रेस विजयी हुने बताउदै निर्वाचनमा जितेको सभापतिलाई काम गर्ने वातावरण दिन आग्रह गर्नुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले विगतका कमी कमजोरीलाई सच्याएर अगाडि बढेमा काङ्ग्रेस बलियो हुने बताउनुभयो।
कार्यक्रममा काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति एवं काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले अरु बेला काङ्ग्रेस र निर्वाचनको बेला अरु दललाई भोट दिने प्रवृत्तिका कारण काङ्ग्रेसले पराजय ब्यहोरेको बताउनुभयो ।
कार्यक्रममा क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, प्रदेशसभा सदस्य जीवन डङ्गोल, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जनलगायतले सबैतहका नेता र कार्यकर्ताले आफ्नो जिम्मेवारीअनुसार काम गरे कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताउनुभयो ।


















