Prakash Adhikari January 11, 2018

काठमाडौं,२६ पौष । अदालतको मानहानीको मुद्दामा अनशनस्थलबाटै पक्राउ भएका शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्रा.डा. गोविन्द के.सी.लाई सर्वौच्च अदालतले साधारण तारेखमा रिहा गरेको छ ।

रिहाईपछि पनि प्रा.डा.के.सी.ले शिक्षण अस्पतालमा आमरण अनशन जारी राखेका छन् । यसलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा बिहिबार निर्णय गरिने उनले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको डीनमा सर्वौच्च अदालतले प्रा. डां शशि शर्मालाई पुनस्थापित गरेपछि न्यायालय र सर्वोच्च अदालतका प्रधानन्यायाधिश विरुद्द अशिष्ट अभिव्यक्ति दिदैं न्यायिक शुद्धताको माग राखेर अनशन बसेका प्रा.डा. के.सी.लाई अदालतको अपहेलनासम्बन्धी मुद्दामा प्रहरीले पौष २४ गते पक्राउ गरी २५ गते अदालतसमक्ष उपस्थित गराएको थियो ।

न्यायधीशहरु बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले दिएको फैसलामा विपक्षी प्रा.डा.के.सी.ले प्रेस विज्ञप्तिमा विभिन्न कुराहरु लेखेको भएपनि अदालतसामु उपस्थित हुँदा न्यायाधीशलाई म सम्मान गर्दछु अदालतलाई घृणा हुने अभिब्यक्ति मैले दिएको छैन, स्वस्थ आलोचना गरी अदालत र समाजलाई घच्घच्याएको मात्र हुँ भन्ने बयान दिएको उल्लेख छ ।

न्यायधीश द्धय श्रेष्ठ र भण्डारीको संयुक्त इजलासले प्रा.डा. के.सी.को पक्षबाट बहस गर्ने अधिवक्ता डा.सुरेन्द्रभण्डारीको जिम्मामा साधारण तारेखमा छोड्ने आदेश दिएको हो ।

न्यायाधीश द्धय श्रेष्ठ र भण्डारीको इजलासले प्रधानन्यायधीश गोपाल पराजुलीको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएको नागरिकता, न्यायपरिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय, शैक्षिक प्रमाणपत्रका प्रतिलिपि झिकाउन र प्रा. डा. शशि शर्माको सम्बन्धमा भएको फैसलाको मिसिल झिकाउन आदेश दिएको छ ।

Share Now

Leave a comment.