काठमाडौं, २६ पौष । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिका अनुसार माघ १० गते मनोनयन दर्ता र माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सीमा तोकिएको छ।
राष्ट्रिय सभाको निर्वाचनमा सहभागिता जनाउन हालसम्म १० दलवटा राजनीतिक पार्टीहरुले दल दर्ता गरेका छन् । दल दर्ताको समयावधि शुक्रबारसम्म रहेको छ।
निर्वाचन आयोगले माघ १० गते बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्ने समयसीमा तोकेको छ।
आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन नै दाबीविरोधको उजुरी लिने कार्यक्रम बनाएको छ।
आयोगको कार्यतालिका अनुसार माघ १४ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, १५ गतेसम्ममा उम्मेदवारले नाम फिर्ता लिने र सोहीदिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने छ।
राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवम् प्रदेशसभाका सदस्य गरीजम्मा २ हजार ५६ जना मतदाता रहनेछन्।
उम्मेदवारलाई चिह्न प्रदान गरेपछि आयोगले मतपत्र छपाइको कार्य शुरु गर्ने बताएको छ।
आयोगले राष्ट्रिय सभाको निर्वाचनको लागि पनि प्रशिक्षणको कार्यक्रम बनाएको छ ।
मतदाता, निर्वाचन अधिकृत र गणकलाई एकल संक्रमणीय मतदान र गणना सम्बन्धी प्रशिक्षण दिइनेछ ।
निर्वाचन आयोगले बुधवार नै न्यायपरिषद्को स्वीकृतिमा सातजना जिल्ला न्यायाधीशलाई बिहीवार देखि लागु हुनेगरीनिर्वाचन अधिकृत नियुक्त गरिसकेको छ।
प्रदेशको उच्चअदालत रहेका स्थानमा आगामी शनिवारदेखि निर्वाचन अधिकृतका कार्यालय स्थापना हुनेछन्।
माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचन परिणाम दुईदेखि तीन दिनभित्रै सार्वजनिक गर्ने आयोगको योजना छ।