वाशिंटन डीसी)संयुक्त राज्य अमेरिका), २७ पौष(बीबीसी) ।विश्व ब्याङ्कले सन् २०१८ मा विश्वव्यापी औसत आर्थिक वृद्धिमा थप सुधार हुने बताएको छ ।
सन् २०१७ मा अपेक्षा गरिएभन्दा बढ्ता वृद्धि भएको थियो।
ब्याङ्कको नयाँ अनुमानअनुसार यस वर्ष विश्व आर्थिक वृद्धि दर ३.१ प्रतिशत रहने छ।
जोखिम
बीबीसीका आर्थिक सम्वाददाता एन्ड्र्यु वाकर भन्छन् – विश्व ब्याङ्कको प्रतिवेदनअनुसार उक्त वृद्धि दर छोटो समयका लागि मात्र हुनेछ।
जबकि जीवनशैली र गरिबी निवारणमा भएका सुधार चाहिँ दीर्घकालमा जोखिममा रहिरहनेछन्।
निकट भविष्यका लागि भने ब्याङ्कले उत्साहजनक अवस्था रहने जनाएको छ।
ब्याङ्कका अध्यक्ष जीम् योङ् किम्ले वृद्धिदरमा विश्वव्यापी रूपमा भएको व्यापक सुधार उत्साहजनक भएको बताएका छन्।
ब्याङ्कले गत जुनमा गरेको अपेक्षित मूल्याङकनभन्दा नयाँ अनुमान अझै राम्रो भएको बताइएको छ।
ब्याङ्कले उदीयमान र विकासशील अर्थतन्त्रहरू गत वर्षको भन्दा छिटो दरले बढ्ने अनुमान गरेको छ।
चिन्ता
तर दीर्घकालमा वृद्धिदरको अवस्थाबारे भने ब्याङ्कले चिन्ता व्यक्त गरेको छ।
विश्व अर्थतन्त्रले अहिलेको सन्तोषजनक वृद्धिलाई निरन्तर कायम राख्न सक्छ या सक्दैन भन्ने नै मुख्य मुद्दा रहेको छ।
ब्याङ्कले खासगरी आर्थिक वृद्धिको भावी सम्भावनाबारे चिन्ता जनाएको छ।
वर्षौंदेखि उत्पादकत्वमा हुन नसकेका सुधारलाई उसले यसको कारण मानेको छ। उत्पादकत्व भनेको कुनै एक श्रमिकले गर्ने उत्पादन हो।
साथै, कमजोर लगानी तथा छिप्पिँदो उमेरका श्रमस्रोत पनि यसका कारण हुन्।
यी समस्याले विश्वव्यापी आर्थिक गतिविधिका दुई तिहाइ परिमाण धान्ने देशहरूलाई प्रभाव पार्नेछ।
ब्याङ्कको विचारमा अर्थव्यवस्थाको सञ्चालन पूर्ण क्षमताको नजिक पुगेको र अब त्यसलाई वस्तु तथा सेवाका माग वृद्धि गराउन ब्याज दर वा करका दर घटाउने वा सरकारी खर्च बढाउने जस्ता चलनचल्तीका नीतिगत औजार प्रयोग गरि थप विस्तार गर्न सकिन्न।
शिक्षा र स्वास्थ्य सेवाका साथै सडक, विद्युत् आपूर्ति र सञ्चारजस्ता पूर्वाधारमा सुधार गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने ब्याङ्कले बताएको छ।
स्वस्थ र शिक्षित कामदारहरू बढी फलदायी हुने र राम्रो पूर्वाधारले व्यापारको उत्पादकत्व बढाउन पनि सजिलो हुने जनाइएको छ।
फरक अनुमान
ब्याङ्कको पूर्वानुमानमा विश्वका विभिन्न क्षेत्रमा फरकफरक वृद्धि दर देखिएका छन्।
अफ्रिका र भारतले यस वर्ष वृद्धिदर तीव्र पार्ने ठानिएको छ भने चीनमा यस दशकको शुरु देखि नै देखिएको कम वृद्धिदर जारी रहने ठानिएको छ।
चीनमा यस वर्ष ६।४ प्रतिशतको आर्थिक वृद्धि हुने ठानिएको छ।