काठमाडौँ, १७ कार्तिक । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नाक, कान, घाँटीका विशेषज्ञ डाक्टर बास्कोटा यसपूर्व मेडिकल काउन्सिलका अध्यक्ष रहनुभएको थियो ।उहा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत रहनुभएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बनेको उपकुलपतिको नाम सिफारिश समितिले बाँस्कोटाको नाम दुई नम्बरमा सिफारिस गरेको थियो ।
एक नम्बरमा सिफारिसमा पर्नुभएका डा. भगवान कोइरालालाई काउन्सिल अध्यक्षमा नियुक्ति दिए लगत्तै बाँस्कोटालाई उपकुलपति बनाइएको हो ।
सिफारिस समितिले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको नाम समेत तेस्रो क्रममा उपकुलपतिका लागि सिफारिस गरेको थियो ।


















