कीर्तिपुर(काठमाडौं),१७ कार्तिक । नेपालमा तीन थरी क्रिकेट सिरिज खेल्न काठमाडौं आइपुगेको मेरलीबोन क्रिकेट क्लवसंगको मैत्रीपूूर्ण खेलमा नेपाली यू–१९ टिम ३८ रनले पराजित भएको छ ।
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो ।
एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हामोन्ड र टम वेट्सलीले सामना ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।
जवाफमा नेपाली यू–१९ टिमले ५० ओभरमा ९ विकेट गुमाउँदा रनमात्र बनाउन सक्यो । नेपाली युवा टिमका लागि हरी चौहानले अर्धसतकीय पारी खेले ।
नेपाली यू १९ का लागि हरीले ५१ रन बनाए भने रित गौतमले ४३ तथा विशाल केसीले १३ रनको योगदान गरे । यस्तै अरुण ऐरीले ३० रन बनाउँदा खड्का बोहोराले २५ तथा लोकेश बमले १४ रनको योगदान गरे । नेपाली युवा टिमले पहिलो विकेटका लागि २३ रनको साझेदारी गरेको थियो ।
त्यसपछि रित गौतम र खड्का बोहोराले अर्धसतकीय साझेदारी गरेका थिए । तर ८२ रनमा नेपालले दोस्रो विकेट खेर फाल्यो । त्यसपछि पनि हरि चौहान र अरुण ऐरीबीच ५८ रनको साझेदारी हुँदा नेपालको पारी केही सम्हालिएको थियो ।
२ सय १ रन हुँदा चार विकेटमात्र गुमाएको यू १९ टिमले अरु विकेट सस्तैमा गुमायो । नेपालका कुशल मल्ल १२ रनमा आउट भए भने प्रतीश जिसीले ४ रनमात्र बनाउन सके ।
एमसीसी टिमले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीय पछि एमसीसीले नेपालसँग टी २० र फस्ट क्लास खेल क्रिकेट खेल्नेछ ।


















