काठमाडौँ, २३ कार्तिक । प्रधानमन्त्री के पी शर्मा ओलीले कालापानी लगायतका नेपाली भूभाग भारतीय नक्सामा पारिएको विषयमा सबै राजनीतिक दलहरुको अवधारणा ग्रहण गरी समान धारणा बनाउने उद्देश्यले शनिबार ४ बजे आफ्नै सरकारी निवास बालुवाटरमा सर्वदलीय बैठक बोलाउनुभएको छ।
भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू(भागमा समेटेपछि देशव्यापी रुपमा यसको विरोध भइरहेको छ । सत्तामा रहेका र सत्ताबाहिर रहेका राजनीतिक दलहरु, तिनका भातृ संगठन र नागरिक समाजका अगुवाहरुले यसको विरोध गरिरहेका छन् ।
जम्मु र काश्मीरलाई अलग अलग प्रदेशमा विभाजन गरेपछि भारतले कार्तिक १७ मा सार्वजनिक गरेको नयाँ नक्सामा विगतमा महाकाली सन्धीको बेलादेखि नै नेपालीले दावी गर्दै आएको महाकाली नदीको उद्गम स्थलपूर्वका क्षेत्रलाई पनि भारतीय सीमाभित्र पारिएको छ ।
परराष्ट्र मन्त्रालयले त्यसको तीन दिनपछि जारी गरेको विज्ञप्तिमा ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ’ भन्ने उल्लेख गरेको छ।
प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई फोन गरी कालापानी, लेपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएकोले भारतको नयाँ नक्सामा भएको त्रुटी सच्याउन पहलकदमी लिन आग्रह गर्नुभएको थियो ।
तर नेपालमा सो नक्साले नेपाली भूभाग भारतमा पारेको विषयमा देशव्यापी भैरहेको चर्को विरोधका बीचमा कात्तिक २१ मा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भारतले प्रकाशन गरेको नयाँ नक्सामा भारतको सार्वभौम भूमि नै समेटिएको रहेको उल्लेख गर्दै कुनै सीमा परिवर्तन नगरिएको जिकिर गरेका थिए ।
‘