काठमाडौं, २६ कार्तिक । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक राजकीय भ्रमणमा आज राजधानी काठमाडौं आउँदै हुनुहुन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनेछन्। बङ्गलादेशका राष्ट्रपतिको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ।
राष्ट्रपति हमिदको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ। दुवै देशका राष्ट्रपतिको तस्बिर सडकका पोलहरूमा लाम लगाएर राखिएको छ। ठाउँठाउँमा विभिन्न खालका स्वागत झल्कने सामग्री पनि राखिएको छ।
उहाँले भ्रमण गर्नुहुने राजधानीका पर्यटकीय तथा ऐतिहासिक स्थलमा समेत दुई देशको सम्बन्ध झल्काउने गरी सिँगारिएको छ। राजकीय सम्मान दिने गरी भ्रमणको विशेष तयारी रहेको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिए अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको राजकीय सम्मानका साथ स्वागत गरिनेछ।
विशिष्ट भेटवार्ता, स्वागत समारोह, रात्रिभोज लगायतलाई सम्मानित ढङ्गबाट अघि बढाउने गरी शिष्टाचार महाशाखाले तयारी गरिरहेको छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ।
सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुने कार्यक्रम छ।
मन्त्रालयका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ।
त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उनीसँग भेटवार्ता गर्नेछन्। ।
भ्रमणमा रहँदा उहाँले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्ने र त्यस्तै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको समेत उहाँले अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
यस्तो छ, कार्यक्रम
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा ५२–सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउनुहुने राष्ट्रपति हमिद विमान बंगलाको नियमित उडानबाट काठमाडौंमा आउनु हुनेछ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सलामी लिएपछि सिधै नागपोखरीस्थित होटल म्यारियट लगिने छ ।
उहाँको भ्रमण टोलीमा राष्ट्रपतिकी श्रीमति, दुई छोरा, दुई सांसद, सैनिक तथा प्रेस सचिव, बंगलादेश सरकारका विदेश सचिव सहभागी हुने कार्यक्रम छ।
मंगलबार दिउँसो नै राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बंगलादेशी राष्ट्रपति हमिदलाई होटलमा भेट गर्नुहुनेछ । मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले बंगाली समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम छ।
बुधबार बिहान राष्ट्रपति भण्डारीसँग शितल निवासमा बंगलादेशी राष्ट्रपति हमिदले भेटवार्ता गर्नुहुने छ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा कम्युनिष्ट पार्टी (नेकपा( का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग भेट हुनेछ। सबै भेटहरु होटल म्यारियटमा हुनेछन्।
बिहीबार बंगलादेशी राष्ट्रपति हमिद पोखराको भ्रमणमा निस्कनु हुनेछ ।
बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा प्रस्थान गरी दिउँसो विभिन्न पर्यटकीय स्थलहरुको भ्रमणमा उहाँ सरिक हुनुहुने छ। पोखराबाट साँझ राष्ट्रपति हमिद काठमाडौं फर्किने कार्यक्रम छ।
शुक्रबार बिहान चन्द्रगिरीमा भ्रमण गरी राष्ट्रपति हमिद साँझ ५ ः०० बजे बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ।