काठमाडौं, २ मंसिर । बैतडीकी किशोरी पूजा बोहोरामाथि भएको यौन हिंसा काण्डमा सर्वोच्च अदालतले दुई जनालाई दोषी ठहर गरी सजाय सुनाएको छ।
सो काण्डका अभियुक्तद्धय सागर भट्ट र अमरराज अवस्थीलाई न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले सोमबार साढे ११ वर्ष कैद तथा १० लाख रुपैयाँ क्षतिपुर्ति दिन आदेश दिएको हो।
तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाउँदै सर्वोच्चले कात्तिक ७ गते उनीहरुलाई दोषी ठहर गरेको थियो।
बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले यो मुद्दामा २०६९ फागुन २२ गते भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।
तर २०७१ वैशाख १५ गते पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो।
पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले २०७१ मंसिर २१ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो।
२०६८ चैत ९ गते एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न बैतडीमा फोटो स्टुडियोमा गएकी पूजा बोहरा त्यसै स्टुडियोको सञ्चालक सागर भट्ट र उनका साथी अमरराज अवस्थीको सामूहिक यौनहिंसाको शिकार भएकी थिइन् ।