आबुधाबी(संयुक्त अरब इमिरेट्स), २ मंसिर । संयुक्त अरब इमिरेट्सको आबुधाबीमा भैरहेको टि १० लिगमा १८ नोभेम्बरको सोमबारको दिन नेपाली खेलाडीहरुको लागि बिर्सन योग्य रह्यो ।
सो प्रतियोगितामा छनोट भएका नेपाली खेलाडी मध्ये टीम आबुधाबीमा आबद्ध नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्का अन्तिम ११ मा अटाउन सकेनन् भने खेलमा चम्किइरहेका सन्दीप लामिछाने उपर ४ छक्काको बर्षा भयो । दुई ओभरमा उनले कुनै विकेट लिन सकेनन् र टीमले पनि पराजयको सामना गर्न पर्यो ।
सन्दीपको खराब प्रदर्शन
प्रतियोगिता अन्तर्गतको आफ्नो तेश्रो खेलमा सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सले डेक्कन ग्ल्याडीएटर्ससंग हार बेहोरेको छ।
शेख जायद स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै कर्नाटकाले निर्धारित १० ओभरको खेलमा ३ विकेट गुमाएर १ सय १० रन बनाएको थियो। उसको लागि कप्तान हाशिम अमलाले अविजित ३२ रन तथा ओपनर जोंन्सन चार्ल्सले सर्वाधिक ३५ रन बनाएका थिए। इभिन लुइसले २३ रन बनाए।
१सय ११ रनको लक्ष्य डेक्कनले मात्र ८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। पहिलो ४ विकेट ३७ रन बनाउदै गुमाएको डेक्कनलाई करन पोलार्डले विस्फोटक इनिंग खेल्दै जितसम्म पुर्याए। उनले मात्र २२ बलमा १ चौका र ४ छक्का प्रहार गरे। भानुका राजपक्षले ७ बलमा २ चौका र ३ छक्का मदतले २७ रन बनाए।
कर्नाटकाको बलिङ्गमा शपुर जद्रानले २ तथा मालिन्दा पुष्पकुमारा, प्याट्रिक ब्राउन र एहमद राजाले १ । १ विकेट लिए। नेपाली खेलाडी सन्दीप लामिछाने विकेटविहिन रहे।
खेलको चौथो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले उत्कृष्ट बलिङ्ग गरेका थिए । यो ओभरमा उनले जम्मा ५ रन बनाउन दिए । स्ट्राइकमा रहेका पोलार्ड र देभसिचले खुलेर ब्याटिंग गर्न सकेनन्। तर दोश्रो ओभरमासन्दिपलाई काइरन पोलार्डले विष्फोटक ब्याटिड. गर्दै लगातार ४ पटक छक्का बर्षाए । परिणाम डेक्कनले खेल जित्न सफल भयो। २ ओभरमा सन्दिपले ३५ रन खर्चिए।
टी १० लिगमा सन्दिपको यो दोश्रो सबैभन्दा खराब स्पेल हो। गत सिजन केरला नाइट्सको लागि खेल्ने क्रममा सन्दिपले नर्थर्न वारियर्स बिरुद्ध २ ओभरमा ४७ रन खर्चिएका थिए। उक्त खेलमा सन्दिपलाई आन्द्रे रसेलले लगातार ३ छक्का प्रहार गरेका थिए। यस्तै निकोलस पुरनले कुल ४ छक्का प्रहार गरेका थिए।
सन्दीपले यस अघि खेलेको २ खेलमा भने राम्रो प्रदर्शन गरेका थिए। पहिलो खेलमा दिल्ली बुल्ससंग १९ रन खर्चेर १ विकेट लिएका सन्दिपले दोश्रो खेलमा ११ रन खर्चेर २ विकेट लिएका थिए।
लिग अन्तर्गत पहिलो खेलमा दिल्ली बुल्सलाई १९ रनले पराजित गरेको कर्नाटकाले दोश्रो खेलमा बाङ्ग्ला टाइगर्ससंग हार बेहोरेको थियो। ३ खेलमा १ जित र २ हार पछि समुह ‘ए’ अंकतालिकामा कर्नाटका २ अंकसहित तेश्रो स्थानमा रहेको छ। डेक्कन भने ३ खेलमा २ जित र १ हार पछि ४ अंक बटुल्दै पहिलो स्थानमा उक्लियो।