Prakash Adhikari November 22, 2019

 

काठमाडौं, ६ मंसिर । सार्वजनिक खरिद ऐन व्यवहारिक बनाउन माग गर्दै आएका ठेकेदारहरुले शुक्रबार सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका छन।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा काठमाडौंको ताहाचालस्थित सो कार्यालयमा पुगेका निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन दवाव दिँदै शुक्रबार बिहान एक घण्टा धर्ना दिएका थिए।

सार्वजनिक खरिद नियमावली–२०७६ मा गरिएको निर्माण कम्पनीहरुको म्याद थप र बैंक क्रेडिट लाइनसम्बन्धी व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै ठेकेदारहरुले सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन्।

Image may contain: 3 people, people sitting, table and indoor

निर्माण व्यवसायीहरुले धर्नापछि अनुगमन कार्यालयका सचिव मोहन कृष्ण सापकोटालाई भेटेर आफूहरुको समस्या समाधानका लागि सरकारसँग सहजीकरणको भूमिका निर्वाह गर्न पनि आग्रह गरेका थिए।

अवरुद्ध रहेको विकास, निर्माणको कामलाई सूचारु हुने गरी आफूहरुको समस्या समाधानका लागि सहजीकरण गर्न सो अनुगमन कार्यालयका सचिव सापकोटालाई ज्ञापन पत्र बुझाइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभएको छ। उहाँले निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्काल वार्ता समिति गठन गर्न पनि अनुगमन कार्यालयको ध्यानाकर्षण गराउनुभएको थियो।

व्यवसायीहरुको विचार सुनेपछि सचिव सापकोटाले सो ऐन संशोधन गरेर निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै यसका लागि आफूले कानुनी परामर्शको काम सुरु गरिसकेको पनि जानकारी दिनुभएको थियो।

सचिव सापकोटाले निर्माण व्यवसायीहरुले राखेका माग सम्बोधन गर्न मुख्य सचिव नेतृत्वको उच्च स्तरीय समितिसँग पनि छलफल भइरहेको समेत बताउनुभयो ।

Share Now

Leave a comment.