काठमाडौं, ६ मंसिर(रासस) ।प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने दावी गर्नुभएको छ।
काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने बताउनुभयो।
प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताउँदै भन्नुभयो “हामीसँग सफल वर्तमान छ, भविष्य उज्यालो छ । अब ढुक्क भएर अगाडि बढ्न सक्ने क्षमता छ।” नेपाल उर्वर देश भएकाले सबैखाले उत्पादन गर्न सक्ने क्षमता रहेको उहाँको भनाइ छ।
“हामी केही कारणले आर्थिक रुपमा पछाडि पर्यौँ तर अब सधैँ पछाडि पर्दैनौँ, हिजो पछाडि पर्नका लागि अनेकौँ कारणमध्ये शिक्षाको अभाव एउटा थियो”, प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटामा जाँदै गरेको बताउँदै केयूमा आज दीक्षितमध्ये ५४ प्रतिशत छात्रा रहेकामा खुशी व्यक्त गर्नुभयो। नेपालमा उत्पादित चिकित्सा जनशक्ति ‘ग्लोबल लेभेल’ को रहेको समेत उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो “यस्तो आकर्षणले बालिकाहरु विद्यालयमा ड्रपआउट हुने ठूलो चिन्ता हट्दै जानेछ, जनशक्ति उत्पादनमा छात्राको सङ्ख्या बढ्नु पनि ठूलो खुशीको कुरा हो, हामी खुशी छौँ, देश खुशी छ।” उहाँले नयाँ पुस्तालाई उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्न पनि आह्वान गर्नुभयो।
सो अवसरमा भारतको जयपुरस्थित मणिपाल विश्वविद्यालय प्रमुख डा के रामनारायणले केयूसँगको सहकार्यमा मेडिकल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको बतउदै भन्नुभयो “हामी दुई देशको मित्रतासँगै मेडिकल शिक्षामा पनि मित्रवत् रुपमा अघि बढिहेका छौँ, यो खुशीको विषय हो।”
केयूका उपकुलपति प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठले शिक्षा प्रणालीलाई कसरी सान्दर्भिक, सीपमूलक र उच्च गुणस्तरको बनाउने भन्ने विषयमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो “हाम्रो मुलुकमा चुनौती र अवसर थुप्रै छन्, शिक्षाले यी चुनौती र अवसरप्रति गहन दृष्टिकोण प्रदान गर्न सक्नुपर्छ।”
कार्यक्रममा एमबीबीएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अङ्क ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो। केयूका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका १ हजार ६सय ४ दीक्षित भएका हुन्।
दीक्षित हुनेमा एमसिएच, डिएम, एमडी, एमएस, एमएस्सी, र एमडीएसका एक हजार ९८, बिडिएसका २ सय १८, बीएस्सी इन नर्सिङका १ सय १६ र बीपीटीका २४ विद्यार्थी छन्।
भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २ सय ४६ विद्यार्थीसमेत आज दीक्षित भएका छन्।


















