Prakash Adhikari November 28, 2019

बेइजिड.(चीन), १२ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङमा चलिरहेको सरकार विरुद्ध आन्दोलनको समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेपछि चीन कडा रुपमा प्रस्तुत भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङ र हङकङको जनताको सम्मानमा आफूले विधेयकमा हस्ताक्षर गरेको बताएकै दिन चीनले बेइजिङमा रहेका अमेरिकी राजदूत टेरी ब्रान्स्टाडलाई परराष्ट्र मन्त्रालय बोलाएर विरोध जनाएको छ।

चीनका उप परराष्ट्रमन्त्री लु यु छङले राजूदूतलाई ब्रान्स्टाडलाई बोलाएर अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विरोध व्यक्त गर्नुभएको हो ।

मन्त्री छङले हङकङ चीनको अभिन्न अंग भएको भन्दै अमेरिकाले आफ्नो गल्ती स्वीकार्दै विधेयक कार्यान्वयन नगर्न चेतावनी दिनुभएको छ।

६ महिनाअघि संसदमा सुपुर्दगी विधेयक ल्याएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएपछि सरकारले विधेयक फिर्ता लिइसकेको छ। तर, प्रदर्शनकारीहरुले हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने, प्रदर्शनका क्रममा भएको दमनबारे निष्पक्ष छानविन हुनुपर्नेलगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्।

यसैबीच स्वतन्त्र हङकङको माग गर्दै प्रदर्शन गरिरहेकाहरुको समर्थनमा अमेरिकी संसदले विधेयक तयार गरेको थियो।

ट्रम्पले हस्ताक्षर गरेको विधेयकमा हङकङ चीनको हिस्सा भएपनि त्यहाँको न्यायिक र आर्थिक अवस्था फरक भएको उल्लेख गरिएको छ। सो विधेयक पारित भएसँगै अमेरिकाले हरेक वर्ष हङकङमा पर्याप्त स्वायत्तता रहेको वा नरहेको बारेमा समीक्षा गर्नेछ र सोही आधारमा आवश्यक कदम चाल्नेछ।

ुहङकङ ह्युमन राइस्ट एन्ड डेमोक्रेसी एक्टु नाम दिइएको सो विधेयक हङकङ सरकार र चीनको एक चीन दुई प्रणाली नीतिलाई झट्का भएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।
तर हङ्‌कङका एक मुख्य अभियानकर्ता जोशुवा वङ्गले अमेरिकी कानुन हङ्‌कङवासीहरूका निम्ति गजबको सफलता भएको बताए।

Share Now

Leave a comment.