Prakash Adhikari November 28, 2019

काठमाडौं, १३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो निवास फर्कनुभएको छ ।

मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गराउनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति भण्डारी बिहिबार साँझ त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थिति शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान सेन्टरमा पुग्नुभएको थियो ।

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीको अवस्थाका बारेमा २० मिनेट ब्रिफिङसमेत गराउनुभएको थियो।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग करिब १५ मिनेट कुराकानी गर्नुभएको थियो।

एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्‍न राष्ट्रपति भण्डारी बिहीबार साँझ शिक्षण अस्पताल पुगेकी हुन्। प्रधानमन्त्री ओली शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा रहनुभएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी गम्भीरतालाई ध्यानमा राख्दै चिकित्सकहरूले उपचारमा संलग्न चिकित्सकको टोली र श्रीमती राधिका शाक्यबाहेक अरुलाई प्रधानमन्त्रीसंग भेट्न दिएका थिएनन । उहाँलाई भेट्न अस्पताल पुग्नुभएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीकै सल्लाहकार टोली पनि चिकित्सकसँग परामर्श गरेर फर्कनु परेको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्य लाभको अवस्थाबाट राष्ट्रपति सन्तुष्ट हुनुभएको बताउनुभएको छ तर राष्ट्रपतिको अपर्झट भेटले भने आमजनतामा प्रधानमन्त्रीको स्वास्थ्य जटील अवस्थामा पुगेको सन्देश प्रवाहित भएको छ ।

Share Now

Leave a comment.