प्रकाश अधिकारी
काठमाडौं,१३ मंसिर ।’समृद्ध नेपाल,सुखी नेपाली’को सपना साकार पार्न संकल्पित प्रधानमन्त्री केपी शर्मा ओली नयाँ जीवनको खोजीमा हुनुहुन्छ । १२ बर्ष पहिले भारतमा फेरिएको मृगौलाले काम गर्न छोडेपछि नियमित डायलासिसमा रहनुभएका प्रधानमन्त्री ओली सोमबार रातिबाट पेटमा असैह्य वेदना भएपछि मंगलबार उपचारार्थ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरमा भर्ना गरिनुभएका उहाँको प्रारम्भिक स्वास्थ्य परीक्षण पछि एपेण्डिसाइटिसको अप्रेसन गरिएको थियो ।
एपेण्डिसाइटिस फुटेर पेटमा संक्रमण समेत भएको हुनाले अप्रेसनपछि भ्यान्टिलेरमा रहनुभएका प्रधानमन्त्री बुधबारबाट विस्तारै स्वास्थ्यलाभ गरिरहनुभएको छ। बृद्धावस्था, रोगले ग्रस्त जराजीर्ण शरीर,अस्पताल भर्ना हुनुपूर्व मुलुकमा विकसित नक्सा र सीमा विवाद,ठूलो पार्टीभित्रको गुटउपगुटको कचिंगल, मन्त्रिपरिषद् पुनर्गठनमा भएको असन्तुष्टि, सरकारको गतिहिनता जस्ता समस्यै समस्यामा अल्झिनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभका बारेमा जति समाचार कम्युनिष्ट राज्ययन्त्र नियन्त्रित कम्युनिष्ट सञ्चार माध्यमले बाहिर ल्याएका छन्, यथार्थ त्योभन्दा धेरै टाढिएको हुन सक्ने अनुमान गरिंदैछ ।
सञ्चारमाध्यमहरुमा आएका तुरुन्तै डायलासिस र मिनि डायलासिस गर्नुपर्ने/गराइएका, प्लाज्मा चढाइएका, मृर्गौला प्रत्यारोपणका लागि आफन्त र मृगौलादाताको स्वास्थ्य परीक्षण र क्रमम्याच गराइएका समाचारले प्रधानमन्त्रीको यथार्थ अवस्था के हो भन्नेबारेमा देश विदेश सबैतिर अन्योल छाएको छ ।
यो अन्योललाई चिर्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्यो । सम्मेलनमा मंसिर १० गते प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुभएका डाक्टर रमेशसिंह भण्डारीले प्रधानमन्त्री ओलीलाई पहिलाकै अवस्थामा फर्किनको लागि अझै दुई साता लाग्ने जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएपनि अझै एक साता अस्पतालमै बस्नुपर्ने बताउनुभयो । घाउलाई सहन सक्ने अवस्था भएमा प्रधानमन्त्री १० दिनपछि काममा फर्कन सक्ने पनि बताउनुभयो ।
देशका बाहलवाला प्रधानमन्त्री, सत्तारुढ पार्टीका अध्यक्ष,लोकतान्त्रिक आन्दोलनमा लामो समय संघर्ष गरी जेल बस्नुभएका वरिष्ठ नेताको शीघ्र स्वास्थ्य लाभको कामना सबै नेपाली र नेपालका मित्रहरुले गरिरेहका छन् । प्रधानमन्त्रीलाई सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना ।
प्रधानमन्त्रीले शीघ्र स्वास्थ्य लाभ गर्नुभयो भने पनि उहाँ मृगौलाको नियमिति डायलासिस वा प्रत्यारोपणको अर्को श्रृखलामा प्रवेश गर्नुपर्ने अवस्था छ । त्यसैले प्रधानमन्त्रीले अब राजकाजमा त्यति ध्यान दिन सक्ने अवस्था देखिदैन् । अस्पतालको सैय्यामा जीवनकालागि संघर्षरत व्यक्तिले समग्र राज्यका बारेमा ध्यान दिन संभव पनि हुँदैन् । यतिखेरै देशमा चर्किएको राष्ट्रवाद(सक्कली। नक्कली?)को नाराले दक्षिणतिरको छिमेकीसंगको सम्बन्ध युद्धपूर्वको दोषारोपणको उच्च तह समान पुगेको छ ।यसपूर्व उपचार गरिएका भारत र सिंगापुरका अस्पतालमा जान प्रधानमन्त्री र उहाँको टिमको अरुचि र थाइलैण्ड तथा जापानतिरको मोहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था प्रचार गरिएभन्दा जटील बन्दै गएको आभास दिन्छ । मान्छेले आफ्नो अन्तरमन र विरामीले आफ्नो निजी डाक्टरलाई ढाँटदैन भनिन्छ । शक्ति नछोड्ने र आफ्नो अडानमा कहिल्यै टसको मस नहुने पहिचान बनाउदै आउनुभएका प्रधानमन्त्रीले केही हप्ता यता देखाउनुभएका गतिविधिहरुले उहाँलाई आफ्नो स्वास्थ्यअवस्थाको राम्रो ख्याल भएको छनक दिन्छन् ।
पार्टीको कमाण्ड र सरकारको नेतृत्व आफ्नै हातमा राख्ने लालसा पाल्नुभएका प्रधानमन्त्री ओलीले पार्टीको कमाण्ड अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सुम्पनु, प्रधानमन्त्रीको स्वकीय सचिवालय र मन्त्रिमण्डल पुनर्गठन गर्नु,प्रदेश प्रमुखहरुको नियुक्तिका लागि सिफारीस गर्नु,पार्टी एकतालाई टुंगोमा पुर्याउन गति दिनु,विश्वविद्यालय सहित राज्यका विभिन्न निकायका पदाधिकारीको नियुक्ति गर्ने कार्य टुंगोमा पुर्याउने कार्यले उहाँ अर्को ठूलो अप्रेसन(संभवतः मृगौला प्रत्यारोपण)मा पुग्नु अगाडि सरकार र पार्टीमा आफ्ना उत्तराधिकारी तयार गरी आवश्यक बन्दोबस्त गर्न चाहेको प्रतित हुन्छ, जसरी डाँडामाथिको जूनको अवस्थामा पुगेका परिवारका संरक्षक वा मूलीहरुले गर्दछन् ।
छवि जोगाउने अन्तिम मौका
प्रधानमन्त्री ओलीका केही हप्ता र महिना यताका गतिविधिले उहाँ स्वभाविक रुपमा सत्ताको बोझबाट निवृत्ति खोज्न लागेको पुष्टि गर्दछन् । यसैले व्यक्तिगत रुपमा उहाँलाई सम्मान गर्नेहरुले उहाँको वर्तमान, हालसम्मको इतिहासलाई निश्कलंक राख्न अन्तिम कसरत गर्ने समय आएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले पार्टीको स्थापना र विकास,नेपालको लोकतान्त्रिक आन्दोलनकालागि गरेको योगदान अतुलनीय छ, त्यसमा कसैले शंका गर्नुपर्ने अवस्था छैन् । पहिलो कार्यकाल छोटो समय सरकारको नेतृत्व गर्दा नेपालको मधेश आन्दोलनलाई सिरानीमा राखेर भारतले गरेको आपूर्ति नियन्त्रण (नाकाबन्दी) को चर्को विरोध गरेर राष्ट्रवादी छवि बनाउनुभएका प्रधानमन्त्री ओलीको दोस्रो प्रधानमन्त्रित्वकाल भने भ्रष्टाचारको संरक्षणले बदनाम हुन गएको छ । उहाँ गृहमन्त्री हुँदा, उहाँ परराष्ट्रमन्त्री हुँदा र पहिलो कार्यकालमा छोटोसमय प्रधानमन्त्री हुँदा उहाँको निष्ठामा कसैले प्रश्न उठाएको थिएन् । सन्तान नभएकोले लोभ,लालच नभएको र सिद्धान्तनिष्ठ नेताको छाप छोड्नु भएको थियो ।

तर २०७४ फागुनमा दोस्रोपटक प्रधानमन्त्री भएपछि उहाँको स्वच्छ छविमा भ्रष्टाचारको कालो कलंकले स्थान लियो । नेपालको सार्वजनिक खरिदको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार भएको वाइडबडी प्रकरणका दोषीहरुलाई बचाउन प्रधानमन्त्री नांगै उत्रिनुभयो । उहाँलाई पूरा सूचना नदिएर अन्धकारमा राखेर नांगै दौडन लगाइयो कि भ्रष्टहरुसंगको निकटताले मोहित भएर उहाँ आफै तिनको बचाउमा अग्रसर हुनुभयो ? यो प्रश्नको जबाफ नेपालको इतिहासले खोजिरहेको छ । २४ अर्बको यो खरिदमा प्रचलित नियम कानुनको उल्लंघन गर्दै ४ अर्ब ३५ करोड ५६ लाख रुपैया भ्रष्टाचार भएको ठहर संसदको सार्वजनिक लेखा समितिले गरेको छ । संसदको परराष्ट्र तथा श्रम समितिले पनि यो खरिदमा अनियमितता र भ्रष्टाचार भएको निश्कर्ष निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणमा छानवीन अन्तिम चरणमा पुर्याएको बेलामा प्रधानमन्त्री निवासबाट दवाव दिएर यो प्रकरणलाई किनारामा राख्न लगाएर अन्य अधिकार क्षेत्र नभएका विषयमा अख्तियारलाई काम गर्न अनधिकृत दवाव दिइएको बताइन्छ ।
यो वाइड बडी प्रकरणमा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता नहुन पनि सक्छ । प्रधानमन्त्रीको नाम भजाँएर बालुवाटारमा बस्नेहरुले यसका दोषीबाट रकम बुझेका पनि हुनसक्छन् । वाइडबडी प्रकरणका एक खेलाडी तथा एएआर कम्पनीका नेपाली एजेण्ट विजयकृष्ण श्रेष्ठले बालुवाटारमा एकमुष्ट १३ करोड बुझाएकोले प्रधानमन्त्री निवासबाटै यो प्रकरणमा मुद्दा नचलाउन अख्तियारमाथि दवाव आएको बताइन्छ । वाइडबडी खरिदमा रु ६ अर्ब ५९ करोडको घोटालालाई छोप्न यसका खलनायकहरुले इजरायलकी राजदूत हुनुभएकी अञ्जान शाक्यलाई समेत प्रयोग गरेको नेपाल वायुसेवा निगमका पदाधिकारीहरु बताउछन् ।

चर्चामा आएको १३ करोड भ्रष्टाचार विरुद्ध सून्य सहनशीलता र सुशासनको उपदेश दिने प्रधानमन्त्री स्वयंको हात हुँदै खातामा पुग्यो कि उहाँलाई गलत ब्रिफिड. गरेर यसको ढाकछोपमा उत्रिन नांगै उभ्याइयो, उहाँका शुभचिन्तकहरुले खोजी गर्नुपर्ने बेला आएको छ । किनकी जीवनका लागि संघर्ष गरिरहेको यो अवस्थासम्म पनि उहाँलाई सन्तानकालागि सम्पत्ति संचय गर्नुपर्ने अवस्था आएको छैन । आफूलाई जीवन दान दिने र दुईदुईपटक देशको प्रधानमन्त्री भएर स्वदेशमा शासन चलाउने र विदेश भ्रमण गरी भाषण गर्ने अवसर जुटाइदिने मृगौलादाताप्रति समेत उहाँले कुनै दयामाया गर्नुभएको देखिएन् । अवका दातासंग पनि संभवत त्यस्तै व्यवहार होला ।
तर संसदीय व्यवस्थामा अटल विश्वास भएका नेता एवम् प्रधानमन्त्री ओलीले संसदको सार्वजनिक लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैया भ्रष्टाचार भएको प्रतिवेदन निकाले पछि त्यसलाई प्रतिवाद गर्न पुनरावेदन अदालतका अवकाशप्राप्त न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति बनाउनु भयो । त्यसका पदाधिकारीहरुले सपथ पनि खाएनन्, काम पनि गरेनन्,म्याद पनि थपिएन,त्यसै तुहियो ।
संसदको अन्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि यसमा भ्रष्टाचार र अनियमितता भएको भन्ने प्रतिवेदन दियो । सार्वजनिक खरिदका लागि स्थापना भएको र प्रधानमन्त्रीको कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक प्रतिवेदन नै बनाएर यो प्रकरणमा सार्वजनिक खरिद ऐन र नियमावलीका दर्जनौ दफहरुको उल्लंघन भएको बतायो । संसदका दुई दुई समितिले भ्रष्टाचार भएको ठहर गरेको ६ अर्ब ५९ करोड घोटालाका अभियुक्तलाई भने बालुवाटारका मठाधीशहरुले मुद्दा चलाउन नदिएर रोके । यसका दोषीलाई प्रधानमन्त्री ओलीकै जीवनकालमा मुद्दा चलाइएन भने प्रधानमन्त्री ओली नेपालको इतिहासमा भ्रष्टाचारीका संरक्षकको रुपमा प्रस्तुत हुनुहुने निश्चित छ ।
संसदीय व्यवस्था भएका कुनैपनि मुलुकमा संसदीय समितिले दिएका निर्देशनहरु सरकार र राज्यका संबन्धित निकायहरुले पालना गर्दछन् । तर ओली शासनमा संसदीय व्यवस्था र संसदको अपूर्व उपेक्षा गरियो ।
सुन काण्डका मतियारसंगको सम्बन्ध
प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा भएको डरलाग्दो काण्ड ३३ किलो सुन काण्ड हो । यो प्रकरण सुन तस्करीमा संलग्न भएका गोरे,भुुजुड. गुरुड.लगायतका केही सुनका भरियाहरुलाई नेपाल प्रहरीले समात्यो । तर सुनको खरिदमा लगानी गर्ने लगानीकर्ता र सुन किन्ने कसैलाई पनि समाउन दिइएन् । यो प्रकरणको छानवीन गर्न गृहमन्त्रालयले बनाएको समिति ब्यापारी दीपक मल्होत्रासमक्ष पुगेपछि यो घट्नाले नयाँ मोड लियो । अनुसन्धान रोकियो । ब्यापारी मल्होत्रासंग प्रधानमन्त्री ओली वा उहाँको सल्लाहकार समूहको के लगनगाँठो कसिएको छ ? उहाँ प्रधानमन्त्रीको भारत,चीन,कम्बोडिया,भियतनाम आदि देशको भ्रमणमा अतिआवश्यक उद्यमी व्यापारीको सूचीमा पर्नुहुन्छ । उहाँलाई परि थापाको संयोजकत्वमा बनेको संसदीय समितिले तस्करहरुको सूचीमा राखेको छ ।





















