धरान(सुनसरी), १५ मंसिर । धरान उपमहानगरपालिको मेयर पदमा भएको निर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४ सय ३४ मतले पछाडि पार्नुभएको छ।
यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवार तिलक राईले उछिन्नुभएको हो ।
पछिल्लो मतगणनाअनुसार कांग्रेसले ६ हजार ८ सय ५७ मत पाएको छ। नेकपाले ६ हजार ४ सय २३ मत ल्याएको छ।
वडा नम्बर १६ को गणना सकिँदा कांग्रेसलाई त्यहाँ २ हजार ३ सय ४० र नेकपालाई १ हजार ८ सय ४९ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ।
२०७४ मा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएका धरानका मेयरको मिर्गौला रोगका कारण मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।
नेकपाबाट प्रकाश राई, नेपाली कांग्रेसले नगरसभापति तिलक राईलाई उम्मेदवार बनाएको छ । सङ्घीय समाजवादीले भूपू शैनिक गजेन्द्र इस्वोलाई अघि सारेको छ । त्यस्तै लिम्बूवान राष्ट्रिय मञ्चले अमर इजम(लिम्बू)लाई उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचनमा साविक नेकपा एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याउनु भएको थियो । नेपाली कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए ।
निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारले ११ हजार १ सय ८० ल्याएको थियो । सङ्घीय समाजवादी पार्टीले उपप्रमुख मात्र उठाएको थियो । उपप्रमुखमा ५ हजार १ सय ८१ मत ल्याएको थियो । समाजवादीको करिब ३ हजार मत माओवादी केन्द्रले पाएको थियो ।


















