पोखरा(कास्की )१५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत गण्डकी प्रदेशको राजधानी पोखरामा हुने खेलको आइतबार उद्घाटन भएको छ ।
पोखरामा हुने १३ औं दक्षिण एशियाली खेलको स्थानीय सहजीकरण तथा व्यवस्थापन समिति संयोजक तथा गण्डकी प्रदेश सामजिक विकास मन्त्री नरदेवी पुनमगरले उद्घाटन गर्नुभएको हो । १३ औं साग २५ गतेसम्म चल्नेछ ।
उद्घाटन मन्तव्यका क्रममा मन्त्री पुनले पोखरा खेलकुदका लागि अति उत्तम ठाउँ भएको बताउदै नेपाली खेलाडीलाई खुलेर खेल्न आग्रह गर्नुभयो । उहाँले पोखरामा दक्षिण एशियाली खेलको आयोजना गर्न पाउनु प्रदेशको गौरव भएको बताउनुभयो ।
साग अन्तर्गत पोखरामा हुने खेलमध्ये उद्घाटन लगत्तैब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
व्याडमिण्टनको पहिलो खेलमा बंगलादेश र पाकिस्तान भिड्दैछन् ।
१३ औं साग अन्तर्गत पोखरामा आर्चरी, महिला फुटबल र क्रिकेट, ब्याडमिन्टन, ह्यान्डबल, ट्रायथोलन, भारोत्तोलन र ब्याडमिन्टन हुनेछन् । महिला क्रिकेट पोखरा रंगशालास्थित क्रिकेट रंगशालामा १६ गते हुनेछ ।
आर्चरी पोखरा रंगशालामा १९ गते हुनेछ । १७ गते महिला फुटबल, ह्यान्डबल १८ गते, बिच भलिबल बाराही घाटमा १९ गते, र भारोत्तोलन माटेपानीमा १९ गते हुनेछ ।
१३ औं सागका २७ खेल पोखरासहित काठमाडौं र जनकपुरमा हुँदैछन् ।



















