Prakash Adhikari December 13, 2019

भक्तपुर, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आफना नेता र कार्यकर्ताहरुलाई सदाचार, अनुशासन, नैतिकताको आचारसंहितामा बाध्न नसकेकोले यसका केन्द्रीय स्तरका नेताहरुदेखि स्थानीय तहका नेता र कार्यकर्ताहरुका आर्थिक अनियमितता, भ्रष्टाचार, यौनदूराचार, ठगी, जालसाजीजस्ता गलत अपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका छन् ।

नेता र कार्यकर्ताको यो रोग भक्तपुरमा पनि चरम रुपमा देखिएको छ । हालै भएको प्रदेश सभा निर्वाचनमा विगतमा जितेको निर्वाचन क्षेत्र गुमाउनुमा यस जिल्लाका नेकपाका अध्यक्षको गलत धन्दागिरीको प्रमुख भूमिका रहेको बताइन्छ ।

नेकपाको जिल्ला अध्यक्ष रहनुभएका बचन देउजा हाल उज्यालो वचत तथा ऋण सहकारीको पनि अध्यक्ष हुनुहुन्छ । सो सहकारीमा कारोबार गरिरहेका पुराना सदस्य र सञ्चालक समितिका पूर्वपदाधिकारीहरुलाई सुनियोजित तबरले बाहिर्याएर अध्यक्ष पड्काउनु भएका सर्वहारा पार्टीका अध्यक्ष देउजाले त्यसबाट कारोबार गर्नेहरुलाई सर्वहारामा रुपान्तरण गरेर केही बर्षमै आफू भने करोडको सम्पत्तिको मालिक बन्नुभएको छ ।

 

सहकारीका सदस्यहरुले दिएको जानकारी अनुसार उहाँले गैर कम्युनिष्ट सदस्यहरुलाई भित्तामा पुर्याएर सो सहकारी कब्जा गर्नुभएको हो । सहकारीका तात्कालीन अध्यक्ष शंकरनाथ उप्रेतीलाई सहकारी बैंकबाट लिएको कर्जा भुक्तानी गर्न नसकेको भन्दै बाहिरिन बाध्य पारेपछि नागरिक उड्डयन प्राधिकरणका कर्मचारी हेमप्रसाद दाहाललाई सचिवबाट कार्यबाहक अध्यक्षमा ल्याइयो, जबकी विधान अनुरुप उपाध्यक्ष उमेश बजगाईले संस्था सञ्चालनको जिम्मेवारी पाउनु पर्दथ्यो । त्यसपछि साधारण सभा गराएर बचन देउजालाई संस्थाको अध्यक्ष बनाएपछि उहाँले पुरानो टिमलाई संस्थामा फर्कनै नसक्ने गरी उठीबास गराइदिनुभएको छ ।

सहकारीबाट प्राप्त विवरण अनुसार शंकरनाथ उप्रेतीले आफू अध्यक्ष भएको समयमा झण्डै १ करोड २९ लाख ५१ हजार ६ सय १८ रुपैया लगानी गर्नुभएको थियो । नयाँ नेतृत्व आएपछि उसले  बरबुझारथ गरी संस्थाले गरेको संस्थागत लगानी संस्थागत रुपमा उठाउने काम गर्नुपर्नेमा शंकरसंग लगानीको रकम सबै बुझाउने उठाउन नसके आफ्नो घरघरानाबाट असुल उपर गर्न मञ्जुर छ भन्ने कागज गर्न लगाइयो ।

सहकारीको विभिन्न मितिका निर्णयमा  शकरले आफ्नो नेतृत्वमा भएको लगानीको साँबा र ब्याज भुक्तानीका लागि सहकारीको जमानीमा राष्ट्रिय सहकारी विकास बैंकबाट ६० लाख कर्जा लिएर उज्यालोलाई एकमुष्ट ४० लाख,  एकता वचत तथा ऋण सहकारीको ९ लाख १० हजार सापट  र गोमा न्यौपानेको साढे  ७ लाख रुपैया कर्जा को भुक्तानी गर्ने र भक्तपुरका दुई कित्ता जग्गा धितो राखी पञ्चश्री सहकारीबाट लिएको १६ लाख ७९ हजार,को कर्जा सहकारी विकास बैंकले स्वाप गर्ने गरी निर्णय भएको देखिन्छ ।

नेकपाका जिल्ला अध्यक्ष सहकारीको अध्यक्ष भएपछि भने अचम्मै भयो । उहाँले उप्रेती अध्यक्ष हुँदा कर्जा सुविधा लिएका गैर बामपन्थीहरुको भाखा कटेको भन्दै धितो राखेका जग्गाहरु लिलामीमा लैजानुभयो । विगत १० बर्षमा काठमाडौंमा उपत्यकामा जग्गाको भाउ तेब्बर चौबर भएको छ तर सहकारीले आफूले लिएको कर्जाको साँबा ब्याज पनि नखाम्ने गरेर लिलामी गर्यो । गठ्ठाघरको जग्गाको प्रचलित मूल्य ३५ लाख आना पुगेको छ तर बचनले साढे ९ लाखमा गुपचुप लिनुभयो । सर्वहारा पार्टीका जिल्ला अध्यक्ष बचनले गठ्ठाघर, ताथली, चित्तपोल र टिकाथली(ललितपुर)का जग्गाहरु कौडीको भाउमा गुपचुप आफैले लिएर सहकारीका सदस्यहरुलाई सर्वहारा बनाउनुभयो । सहकारीका सदस्यहरुले बताए अनुसार अहिले बाँकी कर्जाको साँबा र ब्याज १ करोड ७ लाख तिर्न भन्दै तोकता गरिएको छ ।

पीडितहरुले अध्यक्षले समान विचारधाराका व्यक्तिसंगको मिलेमतोमा सहकारीबाट कर्जा लिएका ऋणीहरुको जग्गा हडपिदै आएको बताएका छन् । उनीहरुका अनुसार अध्यक्ष बचन देउजाले पेप्सी कोलामा करौडोको घर किन्नुभएको छ । नागरिक उड्डयन प्राधिकरणका सामान्य कर्मचारी हेम दाहालको पनि करोडौं मूल्यको सम्पत्ति देखिएको छ ।

कम्युनिष्ट पार्टीका नेता कार्यकर्तााहरु करोडपतिमा स्तरोन्नति हुँदा गैर बामपन्थी सहकारीका सदस्यहरु शंकरनाथ उप्रेती, इन्द्रबहादुर थापा,तारा शिवाकोटी, माधवप्रसाद घिमिरे, शोभा न्यौपाने, शुभराज पोखरेल,गोपाल जिरेल, दीपकराज चौलागाई, केशव सापकोटा, रामप्रसाद खतिवडाको भने बिल्लीबाठ भएको छ ।त्यस्तै सविना के.सी.गठ्ठाघरको चार आनाको घर पनि सहकारीले आफ्नो नाममा पास गरी बेचेर खान खोजेको छ ।

प्रधानमन्त्री के पी शर्मा ओली आफ्नो जीवनका उत्तराद्धमा पनि समृद्ध नेपाल र सुखी नेपालीको नारा जप्न छोड्नु भएको छैन तर उहाँका पार्टीका नेता र कार्यकर्ताहरु भने देशमा लोकतान्त्रिक हैन कम्युनिष्ट ब्यवस्था आइरहेको भ्रममा छन्  । कानून हातमा लिएर सोझा र निमुखाको अस्मिता लुट्नेदेखि सम्पत्ति हडप्ने काममा पार्टीका जिम्मेवार केन्द्रीय नेतादेखि जिल्ला नेतृत्व निर्लिप्त देखिनु निकै लज्जाको विषय भएको छ ।

Share Now

Leave a comment.