काठमाडौै, २६ मंसिर । पार्टीको राजनीतिक इतिहासमा सबैभन्दा कमजोर अवस्थाबाट गुज्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पार्टीको गुटगत विवाद सतहमा नै आएको छ ।
पार्टीलाई कब्जामा राखिरहने सभापति शेरबहादुर देउवा पक्षको रणनीति र पार्टीमा भागवण्डा खोज्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडानले नेपाली जनताले भरोसा गरेको लोकतान्त्रिक पार्टी जनताको विश्वास जित्न असमर्थ हुँदै गएको छ ।
२०७२ सालमा सम्पन्न तीन तहको निर्वाचनमा कम्युनिष्ट गठबन्धनसंग सातो जानेगरी पराजित भएको नेपाली कांग्रेसमा पार्टीको सबलीकरणको लागि निर्धारित समयावधिमा निर्वाचन गर्ने कि धकेलेर पार्टीलाई सड्न दिने भन्ने विवाद केन्द्रमा देखिएको छ ।
सभापति देउवा पार्टीको १४ औ महाधिवेशनको मिति धकेल्दै लाने र अर्को पटक पनि आफु जसरी पनि सभापतिमा आउने रणनीतिमा हुनुहुन्छ । त्यसै अनुरुप आफ्नो सभापतित्वकालको स्वभाविक कार्यावधि सकिन २ महिना मात्र बाँकी रहदा उहाँले अहिले विभागको संख्या थप गर्ने प्रस्ताव गर्नुभएको छ ।
पौडेल पक्षले पार्टी महाधिवेशन प्रक्रियामा जानु पर्ने र त्यो एजेण्डा केन्द्रीय कार्य समितिमा आउनु पर्ने अडान राखेको छ ।
सोही अडानका कारण पौडेल पक्षले बिहिवारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ ।
पौडेल पक्षको सहभागिता बेगर नै सभापति देउवाले बहुमत सदस्यको उपस्थितिलाई आधार बनाएर आफ्ना एजेण्डामा छलफल चलाउनु भयो । केही सामान्य एजेण्डाहरुमा निर्णय समेत गरिएको छ ।
नेपाली काँग्रेसले आजको बैठकमा प्रस्तुत एजेण्डामाथिको छलफलको लागि केन्द्रीय कार्यसमितिको बैठक मंसिर २९ गते पुन बस्ने गरि स्थगित गरेको छ ।


















