Prakash Adhikari December 12, 2019

 

सानेपा(ललितपुर), २६ मंसिर । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको बिहिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले हालै नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा विभिन्न पदक जिताएर राष्ट्रको शीर उचो राख्ने खेलाडीको साहसको उच्च कदर गर्दै उनीहरुलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकले सरकारले संवैधानिक परिषद्सम्बन्धी कार्यविधि परिवर्तन गर्न खोजेकोमा त्यसको विरोध पनि गरेको छ ।

कांग्रेसले भनेको छ, संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डित गर्ने तथा लोकतन्त्र र संविधानको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्तमाथि नै आघात पु¥याएर प्रकारान्तरले संविधानलाई समाप्त पार्ने कुत्सित मनसायसाथ सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोज्दैछ । मन्त्रिपरिषद्ले केही अघि राष्ट्रपति समक्ष प्रस्तुत गरेको यस सम्बन्धी अध्यादेशले यसको पुष्टी गरेको छ ।

प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्देशित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिहरुलाई राजनैतिक पूर्वाग्रहका आधारमा लान्छीत गर्ने, झुठ्ठा मुद्दा चलाउने गरी संवैधानिक आयोग जस्ता गरिमामय संस्थाहरुलाई दुरुपयोग गर्न सक्ने खतरालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।

कांग्रेसको बैठकबाट पारित निर्णयमा भनिएको छ ,यसरी दुराग्रह र वद्नियत राखी कोही कसैमाथि पनि गरिने कुनै पनि प्रकारका गैर संवैधानिक र प्रतिशोधपूर्ण कार्यको प्रतिवाद नेपाली कांग्रेसले गर्ने चेतावनी यो बैठक सरकारलाई दिन चाहन्छ ।

कांग्रेस बैठकमा विभिन्न एजेण्डाहरु प्रवेश गरेका छन् । जसमा१४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउन विधानको धारा ७२ को उपधारा ४ बमोजिम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ÷नगरपालिका एवं वडा समितिहरुको अन्तरिम समायोजन सम्बन्धी निर्देशिका कार्यान्वयनको अवस्था, उपनिर्वाचन अनुगमन समिति र केन्द्रीय प्रतिनिधिहरुबाट जानकारी एवं उपनिर्वाचनको समीक्षा,नेपाली कांग्रेसका भ्रातृ संघ एवम् शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदन, केन्द्रीय विभागहरुको संरचनात्मक र संख्यात्मक परिमार्जन सम्बन्धी प्रस्ताव र पार्टी सुदृढीकरणको लागि भएको जनजागरण कार्यक्रमको तेस्रो चरणको मिति परिवर्तन रहेका छन् ।

कांग्रेसले ‘हिपतम’ जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभामा खटिनु भएका केन्द्रीय प्रतिनिधिहरुसँग ७ प्रदेश स्तरीय समीक्षा एवं तेस्रो चरण तयारी सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । जस अन्तरगत प्रदेश नं १ मा पौष महिनामा सुनसरीको धरानमा, प्रदेश २ मा धनुषाको जनकपुरधाममा, प्रदेश नं ३ को चितवनको भरतपुरमा गण्डकी प्रदेशको तनहुँको दमौलीमा र प्रदेश ५को कपिपलवस्तुको तौलिहवामा, कर्णाली प्रदेशको सुर्खेतको बीरेन्द्रनगरमा र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको महेन्द्रनगरमा समीक्षा बैठक हुनेछ ।

कांग्रेस बैठकमा नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव र कालापानी लगायतको सीमा सुरक्षासम्बन्धी प्रस्ताव पनि प्रस्तुत भएको छ ।

देशभरका ७ सय ५३ स्थानीय तहमा केन्द्रीत रहने तेस्रो चरणको जागरण अभियानको मिति परिवर्तन गरेर माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरिएको छ ।

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय विभागहरु ४१ कायम गरी विभागहरुको काम कर्तव्य र अधिकार तोक्ने प्रस्ताव पनि आजको बैठकमा पेश गरेको थियो । जस अनुसार कांग्रेसमा(१) सङ्गठन विभाग,(२) सूचना, संचार तथा प्रचार विभाग,(३) अन्तर्राष्ट्रिय सम्बन्ध विभाग,(४) राज्य प्रशासन विभाग,(५) आर्थिक नीति तथा योजना विभाग,(६) अभिलेख, अनुगमन तथा मुल्याङ्कन विभाग,(७) नेपाली जनसम्पर्क समिति समन्वय विभाग, (८) संघीय मामिला तथा प्रदेश समन्वय विभाग,(९) संसदीय मामिला विभाग,(१०) संवैधानिक तथा कानुन विभाग,(११) स्थानीय तह समन्वय विभाग,(१२) महिला विभाग,(१३) तरुण विभाग,(१४) विद्यार्थी विभाग,(१५) जिल्ला सम्पर्क समिति समन्वय विभाग,(१६) पेशागत तथा बुद्धिजीवि विभाग,(१७) शिक्षा विभाग,(१८) स्वास्थ्य विभाग,(१९) गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग,(२०) उद्योग व्यापार विभाग,(२१) पर्यटन विभाग,(२२) निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग,(२३) कृषि तथा किसान विभाग,(२४) आदिवासी जनजाती विभाग,(२५) खेलकुद विभाग,(२६) प्राकृतिक श्रोत विभाग,(२७) साहित्य, कला तथा संस्कृति विभाग,(२८) श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग,(२९) फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग,(३०) दलित विभाग,(३१) द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग,(३२) मुस्लिम विभाग,(३३) वन तथा वातावरण विभाग,(३४) तराई मधेश विभाग,(३५) वित्तिय संस्था तथा सहकारी समन्वय विभाग,(३६) पिछडिएको क्षेत्र समन्वय विभाग,(३७) विज्ञान तथा प्रविधि विभाग,(३८) भू.पू. सैनिक विभाग,(३९) अन्य पार्टी सम्पर्क र समन्वय विभाग,(४०) शुभेच्छुक संस्था समन्वय विभाग,(४१) अन्य भ्रातृ संघ समन्वय विभाग रहने व्यवस्था गर्न प्रस्ताव गरएको छ ,

कांग्रेसले अन्तर्राष्ट्रिय रेडक्रस महासंघको हालै जेनेभामा सम्पन्न बैठकबाट कार्यकारी प्रमुखमा चितवन जिल्ला निवासी नेपाली सामाजिक अभियन्ता जगन चापागाई निर्वाचित हुनुभएकोमा बधाइ ज्ञापन गरेको छ भने उधौली पर्व र योमरीपुन्हि पर्वको अवसरमासो पर्व मान्ने सम्पूर्ण नेपालीलाई शुभकामना दिएको छ ।

कांग्रेस बैठकले नेपाली कांग्रेस सिन्धुलीका पूर्व सभापति एवं महासमिति सदस्य रंगराज खतिवडाको मंसिर १० गते, काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र न ६ को प्रदेश सभा निर्वाचन क्षेत्र(२) का नेपाली कांग्रेस क्षेत्रीय सभापति ३५ वर्षीय माधव अधिकारीको मंसिर २२ गते, भक्तपुर जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ का सांसद कृष्णलाल भडेलको माता ८६ वर्षीया सेतीमाया भडेलको मंसिर १ गते, पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं। ५ साविक कुरुम्वा २ निवासी नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य एवं पूर्व जिविस सदस्य ६६ वर्षीय अमलकुमार लावतीको मंसिर २४ गते, फिदिम नगरपालिका वडा नं। ५ साविक चोकमागु गाउँ कार्यसमितिका पूर्व सभापति ५४ वर्षीय वीरेन्द्रकुमार तुम्वापोको मंसिर २४ गते भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७६ मंसिर २९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Share Now

Leave a comment.