Prakash Adhikari December 19, 2019

 

पोखरा(कास्की), ३ पौष । पोखरा प्रिमियर लिगको दोस्रो संस्करण अन्तरगत बिहिबार सम्पन्न खेलमा पारस खड्का कप्तानीको चितवन राइनोजले सोमपाल नेतृत्वको बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको विशाल अन्तरले पराजित गरेको छ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको चितवनले पहिलो इनिड.मा २ सय ३ रन बनाएको थियो । चितवनले दिएको २ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले १८.४ ओभरमा सबै विकेट गुमाएर ८४ रन जोड्यो र १ सय १९ रनको विशाल अन्तरले पराजित भयो ।

बुटवलको लागि शिभम् सिंले सर्वाधिक ३३, भिम सार्कीले २१ तथा हरिबहादुर चौहानले १२ रन बनाए। अफ्ताबुद्दीन एहमद २ रन, शंकर राना ५ रन, हर्ष टन्क १ रन, कप्तान सोमपाल कामी ३ रन, शेर मल्ल २ रन बनाएर पेभिलियन फर्के।

बुटवललाई रोक्ने क्रममा चितवनका बलर करन केसीले ४,रोहन मुस्तफाले २ तथा सन्नी पटेल, भुवन कार्की, बिक्रम सोब र बिक्रम भुसालले समान १ । १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो।

चितवनको लागि युएईका खेलाडी रोहन मुस्तफाले सर्वाधिक ७० रन बनाए। यस्तै कप्तान खड्काले छक्का मदतले ६३ रन बनाए। आरिफ शेखले ४० रन बनाए। सन्नी पटेल ४ रनमा अविजित रहंदा अघिल्लो खेलका प्लेयर अफ द म्याच बाबर हायात १ रनमा आउट भए।

चितवनलाई रोक्ने क्रममा बुटवलका भारतीय क्रिकेटर अफ्ताबुद्दीन एहमदले २ तथा अविनाश बोहराले १ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत यस अघि बुटवल र चितवनले खेलेको १। १ खेलमा जित हाँसिल गरिसकेका छन्। बुटवलले काठमाडौँ गोल्डेनलाई सुपर ओभरमा पराजित गरेको थियो। यस्तै चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा काठमाडौँ गोल्डेनलाई सुपर ओभरमा पराजित गरेको बुटवलले दोश्रो खेलमा पहिलो हार बेहोर्यो।

जितपछि चितवन मात्र लिगमा हालसम्म अपराजित टिम रहेको छ। चितवनको ४ अंक रहंदा अन्य सबै ५ टिमको समान २ अंक रहेको छ। सबैभन्दा कम नेट रन रेट सहित बुटवल अंकतालिकाको पुछारमा पुगेको छ।

Share Now

Leave a comment.