काठमाडौँ, ३ पौष । आसन्न राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्नकालागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी(राजपा)बीच २ पौषमा भएको सहमतिले राजपासंग एकीकरणको आधार तयार बनाउदै गरेको संघीय समाजवादी दल झस्कन गएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न वार्तापछि नेकपा र राजपाबीच आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहको दुई स्थानमा राजपाका उम्मेदवार र दलित पुरुष समूहको दुई स्थानमा नेकपामा उम्मेदवारलाई एकापसमा सघाउने सहमति भएको थियो ।
दुई दलबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमितरुपमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने सन्दर्भका पनि सहमति भएको छ ।
सहमतिमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राजपाकोतर्फबाट संयोजक राजेन्द्र महतोले हस्ताक्षर गर्नुभएको छ ।
वार्तामा हस्ताक्षरकर्ता नेताका साथै नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा राजपाका नेताहरु महन्थ ठाकुर, महेन्द्र यादव, शरत्सिंह भण्डारी र राजकिशोर यादव उपस्थिति हुनुहुन्थ्यो ।
राजपाले वर्तमान नेकपा सरकारलाई समर्थन गरे पनि संविधान संशोधन नगरिएको भन्दै पछि समर्थन फिर्ता लिएको थियो । यो नयाँ सहमतिले दुई दलबीच पुनःसहकार्यको सङ्केत दिएको छ ।
सरकारमा सहभागी सङ्घीय समाजवादी नेपालभित्र सरकारबाट बाहिरिने विषयमा छलफल चलेको तथा प्रतिनिधिसभामा सभामुख पद रिक्त रहेको सन्दर्भमा नेकपा र राजापाको नयाँ सहकार्यको सहमति अर्थपूर्ण मानिएको छ ।
सभामुख र उपसभामुखमा एकै दलबाट प्रतिनिधित्व हुन नहुने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश दुईमा सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टीबीच भएको सहमतिले समाजवादी पार्टी संशकित बनेको छ।
निर्वाचनका लागि आफूहरूसँग छलफल नै नगरी हतार(हतार भएको सहमतिले आफूहरू आश्चर्यचकित भएको संघीय समाजवादी पार्टीका महासचिव रामसहायप्रसाद यादवले बताउनुभएको छ ।
प्रदेश दुईमा राजपा र संघीय समाजवादी दलको संयुक्त सरकार छ। यो निर्वाचनमा यी दुई दलसँगै जान सक्ने संभावनालाई त्यागेर सत्तारुढ नेकपासंग सहमति गरेकोमा समाजवादी दलले राजपाले अलि हतार गरेको टिप्पणी गरेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि गरिएको गठबन्धन भएकाले संघीय र प्रादेशिक सरकारमा यसले कुनै असर नपार्ने नेताहरुले बताएका छन् तर सत्ताको लोभ लागेपछि उपसभामुखमा पनि तालमेल हुँदै गएमा भने संघीय र प्रादेशिक सरकारको भविष्यका साथै भावि मधेशवादी दलको एकतामा पनि यसले गम्भीर परिणाम भने ल्याउन सक्ने देखिन्छ ।
अहिले समाजवादीकातर्फबाट नेकपा नेतृत्वको सरकारमा पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री एवम् कानुनमन्त्री हुनुहुन्छ भने भने मोहम्मद इस्तिहाक राई सहरी विकासमन्त्री रहनुभएको छ ।


















