काठमाडौं, ९ पौष । आउदो माग ९ गते निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ ।
आयोेगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली काँग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाललाई ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चुनाव चिह्न दिएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हलो, राष्ट्रिय जनमोर्चाले गिलास, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल सङ्घीय समाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्रयाक्टर निर्वाचन चिह्न प्राप्त गरेको आयोगले जनाएको छ ।
यसैबीच आयोगले उक्त निर्वाचनका सन्दर्भमा सात जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ । आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजिबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिनुभएको छ ।
त्यस्तै जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ ।
न्याय परिषद्को परामर्शमा आयोगले उहाँहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।


















