पोखरा(कास्की), ८ पौष । पोखरा प्रिमियर लिगको दोस्रो सस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टिम(पुरुष)का पूर्वकप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइजनोज लिग चरणबाट सिधै फाइनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डन्सलाई ६० रनले हराउँदै चितवनले फाइनलको यात्रा थालेको हो ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६७ रन बनायो ।
१ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ गोल्डेन वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो। ६० रनको अन्तरमा खेलको नतिजा चितवनलाई सुम्पियो ।

खेलमा काठमाडौँको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४० , पवन सर्राफले २७ र पृथु बास्कोटाले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।गौरभ तोमर पनि ६ रन बनाएर आउट भए ।
ओपनर जयकिशन कोल्सावाला र अमित श्रेष्ठ खाता नखोली आउट भए पछि काठमाडौँ खेलमा फर्कन सकेन।
काठमाडौंलाई रोक्ने क्रममा चितवनका सन्नी पटेलले ३, रोहन मुस्तफाले २ तथा करन केसी, भुवन कार्की, रामनरेश गिरि र पारस खड्काले समान १/१ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो।
चितवनको लागि ओपनिंग गर्न आएका करन केसी १ रन बनाएर दोश्रो ओभरमा सुशन भारिबाट क्याच आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर रोहन मुस्तफाले तेश्रो नम्बरका बाबर हायातसंग शतकीय साझेदारी गरे।
बाबरले ७० रन बनाए। बाबरको विकेट पछि रोहनले आरिफ शेखसंग २९ रनको साझेदारी गरे। आरिफले १५ रन बनाए।
आरिफको विकेट पछि पनि रोहन मुस्तफाले अन्तिम सम्म ब्याटिंग गरे जुन क्रममा अविजित रहँदै ५९ रन बनाए। सन्नी पटेलले १५ रन बनाए।
काठमाडौँको बलिंगमा सुशन भारी , बसन्त रेग्मी र अमर सिंह रौटेलाले समान १ । १ विकेट लिए।

पाँच खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको राष्ट्रिय कप्तान ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाण्डौ इलिमिनेटरमा छनौट हुनेछ या छैन भन्ने कुराको छिनोफानो भोलि बुटवल ब्लास्टर्स र बिराटनगर टाईटन्सबीचको लिग चरणको अन्तिम खेलले गर्नेछ।
बिराटनगरले अहिले ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहेर इलिमिनेटरको स्थान पक्का गरेको बुटवललाई पराजित गरेको खण्डमा काठमाडौँ र बिराटनगरको अंक समान हुनेछ र नेट रन रेटमा उत्कृस्ट हुने टिम बुटवलसंग इलिमीनेटरमा खेल्नको लागि छनौट हुनेछ। काठमाडौँको नेट रनरेट ०.३९ रहेको छ भने बिराटनगरको ०.१७५ रहेको छ।
लिग चरणको सबै ५ खेल जित्दै नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का नेतृत्वको चितवन अंकतालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ।
चितवन पीपीएलको पहिलो संस्करणमा पनि फाइनलमा पुगेको थियो । पोखरा पल्टनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको चितवन अहिले उपाधिको दावेदार मानिएको छ ।


















