काठमाडौं, ९ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० गतेबाट सरेर पुस ११ गते पुगेको छ ।
पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच बैठकका विषय खास गरी पार्टीको १४ औं महाधिवेशन र पार्टीका विभाग, समिति र भातृ संगठनको नेतृत्व र अधिवेशनका विषयमा सहमति जुटन ढिलाई भएकोले बिहिबारको लागि निर्धारित बैठक शुक्रबार सारिएको हो ।
कांग्रेस केन्द्रीय समितिको बैठक मंसिर २६ देखि बोलाइएको थियो । पहिलो दिनको बैठकमा बैठकमा पेश भएका एजेण्डामा ४१ वटा विभागको गठन, नेपाल तरुण दलको म्याद ६ महिना थप गर्ने जनजागरणको निर्धारित मिति परिवर्तन गर्ने लगायतका एजेण्डाहरु प्रस्तुत भएको थियो ।
पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने समय आएको र महाधिवेशनको मुखमा विभागको संख्या थपेर, विभाग गठन गरेर संगठनलाई बलियो बनाउन नसकिने तर्क दिंदै बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले समुहले २६ गतेदेखि नै बैठक बहिस्कार गरिरहेका छन् ।
पार्टीभित्रको असन्तुष्ट पक्षसंग सहमति कायम गर्न पार्टीको संस्थापन पक्षले उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएको छ भने असन्तुष्ट पक्षले पूर्व महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा दिलेन्द्र बडु र हृदयराम थानीलाई जिम्मा दिएको छ ।
दुई वार्ता टोलीबीच विभिन्न चरणमा छलफल र वार्ता भए पनि सबै विषयमा अझै सहमति जुटिसकेको छैन ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिनुभएको छ ।


















