पीपीएल : अन्तिम खेलमा बुटबललाई ४ विकेटले पराजित गर्दै विराटनगर इलिमिनेटर राउण्डमा, काठमाडौं बाहिरियो
पोखरा(कास्की), ९ पौष । पोखरा प्रिमियर लिग (पिपिएल)को दोस्रो संस्करण अन्तरगतको लिग चरणको अन्तिम खेलमा बुटबल ब्लाष्टर्सलाई पराजित गर्दै विराटनगर टाइटन्स इलिमिनेटर राउण्डमा प्रवेश गरेको छ।
पोखरा क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको विराटनगरले रन रेटमा काठमाडौं गोल्डन्स र धनगढीभन्दा माथि रहन २० ओभरको निर्धारित खेलको १ सय ३४ रनको लक्ष्य १२.३ ओभरमा पूरा गर्नुपर्ने सीमा तोकिएको थियो ।

विराटनगरले १ सय ३४ रनको लक्ष्य ११.४ ओभरमै पूरा गरेर आफूलाई प्ले अफको राउण्डमा प्रवेश गरायो।
यसपूर्वका ४ खेलमध्ये एक खेलमा मात्र जित हासिल गरेको विराटनगरले यो जितसँगै ४ अंक जोड्दै प्ले अफमा स्थान सुरक्षित गर्यो।
अंकका आधारमा काठमाडौं गोल्डेन वारियर्स, धनगढी ब्लुजको पनि समान ४ अंक भए पनि नेट रनरेटका आधारमा विराटनगरले चयन भएको हो।
यसअघि नै प्ले अफमा पुगिसकेको बुटवलले बिहीबार फाइनल प्रवेशका लागि विराटनगरसँगै इलिमिनेटर खेल खेल्ने छ।

उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा चितवन राइनोजसंग प्रतिस्पर्धा गर्नेछ।
लिग चरणका पाँचै खेलमा अपराजित रहेको चितवन फाइनलमा पुगिसकेको छ।
विराटनगरको जितसँगै धनगढी ब्लुज र काठमाडौं गोल्डेन वारियर्स प्रतियोगिताबाट बाहिरिएका छन्। यस पहिले नै साबिक विजेता पोखरा पल्टन बाहिरिसकेको छ ।
बिराटनगरका लागि नोमान खानले सर्वाधिक ३५, पुनित मेहराले ३२ , मोहम्मद जैद आलमले २४ रन तथा पुष्प थापाले अविजित १८ रन बनाए।
बिराटनगरलाई रोक्ने क्रममा कबुटवलका नितेश थापाले २ तथा कमल खत्री , हर्ष टोन्क र अविनाश बोहराले समान १ । १ विकेट लिए।
खेलमा टस हारेर ब्याटिंग गरेको बुटवल ब्लास्टर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो।
बुटवलको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका भारतीय खेलाडी हर्ष टोन्कले सर्वाधिक ६७ रन बनाए। शिभम सिंहले ३७ रन बनाए। सिद्धान्त लोहनीले ११ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बुटबललाई रोक्न बिराटनगरका मोहम्मद जैद आलमले सर्वाधिक ४, किशोर महतोले २ , तथा दिपेश श्रेष्ठ र शाहब आलमले समान १ । १ विकेट लिए।


















