Prakash Adhikari January 4, 2020

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १९ पौष(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले “युद्ध सुरु गर्न नभएर युद्ध रोक्न” मारेको बताएका छन्।

उनले इराकको बगदादस्थित विमानस्थलमा भएको शुक्रवारको आक्रमणपछि भने- सुलेमानीको “आतङ्कको शासन” समाप्त भएको छ।

इरानले उनको मृत्युका लागि जिम्मेवारहरूसँग ‘कडा बदला’ लिने भनेको छ। हत्याले इरान र अमेरिकाबीच चुलिएको तनाव प्रकट गरेको छ।

अमेरिकी अधिकारीहरूले सावधानी अपनाउन मध्यपूर्वमा थप ३००० सैन्य दस्ता पठाइने बताएका छन्।

यसैबीच इराकी सरकारी टेलिभिजनले सुलेमानी मारिएको २४ घण्टापछि मुलुकमा अर्को हवाई आक्रमण भएको जनाएको छ।

इराकी सैन्य स्रोतले रोयटर्स समाचार संस्थालाई बताए अनुसार स्थानीय समय शनिवार बिहान इराकी मिलिशियाको समूहलक्षित नयाँ आक्रमणमा छजना मारिएका छन् ।

ट्रम्पले के भने?
फ्लोरिडास्थित आफ्नो मार-अ- लागो रिसोर्टमा प्रेस सम्मेलनमा बोल्दै ट्रम्पले शुक्रवारको आक्रमणबारे भनेः “अमेरिकी सेनाले यस्तो चुस्त र निशानालक्षित आक्रमण गर्‍यो जसले संसारकै एक नम्बरको आतङ्कवादी कासिम सुलेमानी मारिदियो।”

कासिम सुलेमानी
पेन्टागनले अमेरिकी फौजले जनरल सुलेमानीलाई मारेको पुष्टि गरेको छ

उनले भने, “सुलेमानीले अमेरिकी कूटनीतिज्ञहरू र सैन्य अधिकारीहरूमाथि तत्काल र क्रूर आक्रमण गर्दै थिए। हामीले उनलाई बीचैमा थाहा पायौँ र सिध्याइदियौँ।”

इरानको प्रतिक्रिया
सुलेमानीको मृत्युपछि सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले विज्ञप्ति जारी गर्दै भने- “ईश्वरकहाँ उनको गमनले उनको यात्रा या लक्ष्य रोकिँदैन, तर उनी र अरू शहीदहरूको रक्तरञ्जित हात भएका अपराधीहरूमाथि अब कडा बदला लिइनेछ।”

अमेरिकी सुरक्षा परिषद्‍लाई पत्र पठाउँदै इरानी राजदूत मजिद तख्त रभान्चीले भने अन्तर्राष्ट्रिय कानुन बमोजिम तेहरानसँग आत्मरक्षाको अधिकार निहित छ।

इराक कसरी बीचमा छ?

अबु मुहन्दीस
अबु महदी अल-मुहन्दीस(बीचमा) पनि शुक्रवार मारिएका छन्
इरानले छिमेकी इराकमा रहेका विभिन्न समूहका शिया मिलिशिया समूहलाई समर्थन गर्छ।

सुलेमानी बगदादस्थित विमानस्थल आइपुगेका थिए र शिया मिलिशिया अधिकारीसँगसँगै एउटा दस्तासहित यात्रा गर्दै थिए जसमाथि शुक्रवार अमेरिकी क्षेप्यास्त्र आक्रमण भएको थियो।

इराकी मिलिशिया नेता अबु महदी अल-मुहन्दीस पनि आक्रमणमा मारिएका थिए।

उनी कतैब हेजबुल्लाह समूहको नेतृत्व गर्थे। उक्त समूहलाई इरानले समर्थन गर्छ । उक्त समूहमाथि उत्तरी इराकमा गत हप्ता एकजना अमेरिकी ठेकेदारको मृत्यु हुनेगरी रकेट आक्रमण गरेको आरोप वाशिङटनले लगाएको थियो।

कसिम सुलेमानी
कासिम सुलेमानी
इराक अमेरिका र इरान दुवैका समर्थक भएकाले कठिन स्थितिमा परेको छ।

हजारौँ अमेरिकी दस्ता इस्लामिक स्टेट समूहविरुद्धको लडाइँका लागि इराकमा रहेका छन्।

यद्यपि इराकी सरकारले उक्त सम्झौता उल्लङ्घन हुनेगरी अमेरिकाले कारबाही गरको दोहोर्‍याएको छ। प्रधानमन्त्री अदेल अब्दुल महदीले क्षेप्यास्त्र आक्रमणलाई “इराक‍को सार्वभौमसत्ताको उल्लङ्घन र राष्ट्रको मर्यादामाथि आक्रमण” भनेका छन्।

इराकको संसद्‌ले आइतवार आपत्‌कालीन बैठक डाकेको छ।

अमेरिकी विदेश मन्त्रालयले इराकमा रहेका अमेरिकीहरूलाई ‘तत्काल’ इराक छोड्न चेतावनी दिएको छ।

कासिम सुलेमानी को थिए?

इराकको राजधानी बगदाद
आक्रमणको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन
६२ वर्षीय सुलेमानी सर्वोच्च नेता आयतोल्लाह खामेनी पछिका दोश्रो शक्तिशाली नेताका रूपमा लिइन्थे।

इरानको रिभोलुशनरी गार्ड कर्प्सको उच्चतम एकाइ द क्विड फोर्सले आयोतोल्लाह खामेनीलाई रिपोर्ट गर्थ्यो र सुलेमानीलाई राष्ट्रिय नायकका रूपमा लिइन्थ्यो।

क्विडमा उनको २१ वर्षे नेतृत्वकालमा इरानले हेजबुल्लाहलाई बलियो बनाएको छ र लेबननमा इरानी समर्थक लडाकू समूहलाई विस्तृत बनाएको मानिन्छ।

इराक र सिरियामा उसको सैन्य उपस्थिति बढाएको र सिरियाको लामो गृहयुद्धमा लडाकू समूहविरुद्ध कारबाहीको योजना कार्यान्वयनमा ल्याएको जस पनि दिइन्छ।

Share Now

Leave a comment.