Prakash Adhikari January 9, 2020

काठमाडौं, २४ पौष । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान महामन्त्री सशांक कोइराला लगायत पार्टीको संस्थापन पक्ष असन्तुष्ट रहेका नेताहरुको आह्वानमा दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा आयोजित भेलामा सहभागी भएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरु बिहिबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाले आयोजना गर्नुभएको दिवाभोज कार्यक्रममा सरिक भएका छन् ।

उक्त दिवाभोजमा सरिक जिल्ला सभापतिहरुले पार्टीका सभापति देउवासंंग विपक्षीले श्वासफेर्न नदिएर निस्शासिएको अवस्थामा पार्टीमा बृहत्तर एकता कायम गरी अगाडि बढनुको विकल्प नरहेको बताएका थिए ।

जिल्ला सभापतिहरुले नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टी पनि सत्तारुढ कम्युनिष्ट पार्टीकै जस्तो अधिनायकवादी शैलीमा नजाओस भनेर जाडोको पर्वाह नगरी राजधानी आएको बताएका थिए । उनीहरुले सदस्यता वितरणसम्बन्धी विधानको धारा निलम्बन गरेको र ‘पार्टीको सदस्यता भातृ संगठनहरुले बाँड्ने सक्ने प्रावधानको चर्को विरोध गर्दै सभापति शेरबहादुर देउवासंग नेपाल विद्यार्थी संघ र तरुण दलले आफ्नो सदस्यता बाँड्न नसकिरहेको अवस्थामा पार्टीको सदस्यता विवादरहित ढंगले बाड्छ भनेर पत्याउने कुनै आधार नभएको बताएका थिए । अन्य भातृसंगठनको अवस्था पनि त्यसभन्दा फरक छैन् ।

दिनप्रतिदिन जिल्ला सभापतिहरुको अधिकार कटौती भइरहेको विषयमा पनि उनीहरुले सभापति देउवासंग असन्तुष्टि व्यक्त गरेका थिए । प्रत्युत्तरमा सभापति देउवाले महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने तर अरु विषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने आश्वासन दिनुभएको थियो। जिल्ला सभापतिहरुसंग सभापति देउवाले वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा आउने अनि मलाई नबोलाउने भनेर चित्त दुखाउनुभएको थियो ।

सभापति देउवाले जिल्ला सभापतिहरुलाई हल्का चेतावनी दि‘दै भन्नुभयो, ‘भोलि तपाईहरु विरुद्ध लड्ने व्यक्तिले हारेपछि यसरी भेला बोलायो भने तपाईहरु संगठन चलाउन सक्नुहुन्छ? ’

सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको कार्यक्रममा जिल्ला सभापतिहरूले तीन दिनको परामर्शपछि तयार पारेको पाँचबुदे ज्ञापनपत्र सभापति देउवालाई पनि बुझाएका थिए।

कांग्रेस सभापति देउवाले पार्टीमा सबै नेता र कार्यकर्ताको योगदान रहेको बताउदै सहमति कायम गरेर अगाडि बढ्न आफू तयार रहेको बताउनुभएको थियो ।

उहाँले देउवाले पार्टीको आन्तरिक विवाद समाधानको लागि गठन भएको वार्ता कमिटि पुनः सक्रिय हुने संकेत पनि दिनुभएको छ ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकका क्रममा असमझदारी बढेपछि विवाद समाधानको लागि देउवाको पक्षबाट पार्टी उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेलको तर्फबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह संयोजक रहने गरी वार्ता टोली गठन गरिएको थियो।

सभापति देउवाले पुस ११ गतेको निर्णय सच्याउने विषयमा मौन रहे पनि छलफलको माध्यमबाट विवादहरु समाधान गरी पार्टीलाई एकजुट बनाएर लैजान आफू सदैव तयार रहेको उहाँले बताउनु भएको थियो ।

नेपाली कांग्रेसको पौष ११ गते सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले २०७७ फागुन ७ गतेदेखि पार्टीको चौधौं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्नुको अलवा भातृसंगठनहरुको म्याद थप र क्रियाशील सदस्यता वितरणका लागि पार्टीको विधानका केही धाराहरु निलम्बन र संशोधन गरेको थियो ।

असन्तुष्ट पक्षले यसमा असहमति जनाउदै ११ गतेको सबै निर्णय नै फिर्ता गर्नुपर्ने माग राखेका गरिरहेको छ । आफ्नो मागमा समर्थन देखाउन र सभापति देउवामाथि दवाव सिर्जना गर्र्न पुस २१ गतेदेखि पार्र्टी केन्द्रीय कार्यालयमा नै भेला बोलाइएको थियो ।

Share Now

Leave a comment.