नयाँ दिल्ली(भारत) १ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री एवं भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिंहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भेटमा द्विपक्षीय सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।
वरिष्ठ नेता पौडेल रक्तचापको समस्या देखिएपछि उपचारका लागि सोमबार भारतको नयाँदिल्ली आउनुभएको हो ।
स्वास्थ्योपचारसँगै राजनीतिक भेटवार्ता पनि भएको र बिहीबार थप भारतीय उच्च नेतासँग भेटवार्ता हुने सम्भावना रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभएको छ ।
यसैगरी उपचारका लागि नयाँदिल्लीमा रहनुभएका नेता पौडेलले सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिनुभएको छ ।
उहाँले नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रूपमा रहेको मकरसङ्क्रान्ति र माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भन्ने शुभेच्छा नेता पौडेलले व्यक्त गर्नुभएको छ ।