काठमाडौं, ७ माघ । भारतीय लगानीमा विराटनगरको जोगबनी नाकामा निर्मित एकीकृत जाँचचौकी (आइसिपी), र भूकम्पमा भत्किएका घरहरु पुनर्निमाण परियोजनाको आज (मंगलबार) उद्घाटन हुँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा आइसिपी उद्घाटन गर्न लाग्नुभएको हो।
दुबै प्रधानमन्त्रीले बिहान ११ बजे आइसिपी उद्घाटन गर्ने कार्यतालिका छ।
प्रधानमन्त्री ओलीले बालुवाटारबाट र समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट एकैसाथ स्वीच थिचेर आइसीपी उद्घाटन गर्ने कार्यक्रम छ।
यसअघि भारतीय सहयोगमा वीरगञ्जको रक्सौलमा पनि एकीकृत जाँचचौकी निर्माण भएको थियो।
जोगबनीमा आइसीपी निर्माण गर्दा १ अर्ब १५ करोड खर्च भएको भारतीय पक्षले जनाएको छ। आइसीपीमा भन्सार, अध्यागमन, भण्डारण, पार्किङ, बैँकिङ सुविधा लगायतका सेवा उपलब्ध छन्।
करिब १ सय ७० विगाहा क्षेत्रफलमा निर्मित आइसीपी सञ्चालनमा आएपछि नेपालको व्यापार र पारबाहन सहज हुने नेपालका लागि भारतीय राजदूत निलाम्बर आचार्यले बताउनुभएको छ।


















