काठमाडौ, ११ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरु विभिन्न विश्वविद्यालयका पदाधिकारीको नियुक्तिको विषयमाछलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका छन्।
बैठकमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली‚ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल चलिरहेको छ।
शीर्ष नेताहरुबीचमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरुको चयनको विषयमा छलफल भएको बताइएको छ । अहिले विभिन्न विश्वविद्यालयहरुमा उपकुलपति, रजिष्ट्रार र रेक्टरसहित हरेक विश्वविद्यालयमा विभिन्न फ्याकल्टीको डिनका पदहरु रिक्त रहेका छन् ।
यसबाहेक शीर्ष नेताहरुबीच समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको छ । पार्टीभित्र लामो खिचातानी पछि नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटलाई उम्मेदवार चयन गरेको छ। तर उहाँलाई सभामुख निर्वाचन नगराइयोस् भनेर सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ । सो मुद्दा यथावत रहेकै अवस्थामा कांग्रेसले संविधानको मर्ममा टेकेर उपसभामुखको दाबी गरिरहेको छ। तर राष्ट्रिय सभामा राष्ट्रिय जनता पार्टीसंग चुनावी तालमेल गरेको नेकपाका निमित्त उपसभामुख बार्गेनिड. चिप्स भएको छ ।
गत शनिवार नेकपा र नेपाली कांग्रेसका शीर्ष नेताहरुको छलफलले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सहमतिले टुंगोमा पुर्याएका थिए।
साख र शक्ति गुमाउदै विपक्षीलाई ओजनदार भूमिका विनाको उपसभामुखमा थन्क्याएर अझ कमजोर बनाउन नेकपाले उपसभामुख पदलाई उपयोग गरिदियो भने पनि आश्चर्य नमाने हुन्छ ।


















