काठमाडौं, ११ माघ । चीनमा हालसम्म ४१जनाको ज्यान लिइसकेको कोरोना नामक भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ ।नयाँ कोरोना भाइरसको सङ्क्रमण एक नेपालीमा भेटिएको नेपालको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनको वुहानबाट हालै फर्किएका एक नेपाली विद्यार्थीमा उक्त सङ्क्रमण देखिएको बताएका छन्।
“वुहानबाट फर्किएका उनलाई सामान्य रुघाखोकी ज्वरो आएपछि शंका लागेर अस्पतालमा भर्ना गरियो। उनको रगतको नमूना सङ्कलन गरेर परीक्षणका निम्ति हङकङ् पठाइएको थियो। हिजो बेलुकी त्यहाँबाट उनमा सो सङ्क्रमण पाइएको रिपोर्ट आएको छ,” श्रेष्ठले बताए।
विद्यार्थी निगरानीमा
श्रेष्ठले ती बिरामी अहिले ठीकै हालतमा अस्पतालको निगरानीमा रहेको बताए।
यस्ता विषयमा विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार उनलाई निगरानीमा राखिएको बताइएको छ।
उनमा देखिएको सङ्क्रमण ‘माइल्ड’ वा सामान्य प्रकारको भएको प्रवक्ताले बताएका छन्।
नेपालमा अन्य मानिसमा हालसम्म त्यस्तो शङ्कास्पद सङ्क्रमण नपाइएको पनि उनले बताए।
विमानस्थलमा कडाइ
शुक्रवारदेखि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चेकजाँचमा कडाइ गर्न थालिएको श्रेष्ठले बताए।
“चीनबाट आउने सबै बिरामीको हामी ज्वरो लिन्छौँ। त्यसपछि मात्र आउन दिइन्छ,” उनले भने।
चीनमा मृत्यु हुनेको सङ्ख्या ४१
चीनको ख्हबेई प्रान्तमा कोरोनाभाइरसका कारण थप १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यो सँगै हालसम्म चीनमा उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ।
त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार २ सय ८७ पुगेको छ।
चीनमा नयाँ वर्षको आगमन हुँदै छ। तर भाइरसका कारण त्यहाँ थुप्रै कार्यक्रमहरू रद्द गरिएका छन्।
वुहान सहरमा नयाँ अस्पताल निर्माण गरिँदै छ।
कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ। फ्रान्समा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ।
चिनियाँ सञ्चार माध्यमहरूका अनुसार एक हजार शैया रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने सम्भावना छ। त्यसका लागि धमाधम काम भइरहेको बताइएको छ।
यो परियोजनाले “हाल विद्यमान स्रोतहरूको अभावलाई सम्बोधन गर्ने छ” र यो “छिट्टै बन्नुका साथै धेरै लगानी लाग्ने छैन किनकि यो प्रिफ्याब भवन हुने छ,” चान्गजीयाङ पत्रिकामा भनिएको छ।

वुहानमा नयाँ अस्पताल निर्माण हुँदै छ
वुहान सहरमा रहेका औषधि विक्रेताहरूसँग आवश्यक सामग्रीको अभाव हुन थालेको छ भने अस्पतालहरू हताश सर्वसाधारणहरूले भरिएका छन्।
कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ।
केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ।
तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिका बिरामी पनि भेटिने गरेको विज्ञहरू बताउँछन्।
चार मध्ये एउटा मामला गम्भीर मानिने गर्छ।
चीनमा पछिल्लो स्थिति कस्तो?
चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलँदै गर्दा देशका विभिन्न भागमा नियन्त्रणका नियमहरू लगाइएका छन्।
थप शहरहरूमा आवतजावतमा बन्देज लगाइएको छ।
धेरै चाप परेका अस्पतालमा सैन्य स्वास्थ्य कर्मचारी खटाइएका छन्।

बेइजिङमा अधिकारीहरूका अनुसार वुहानबाट आएको बिरामी वा स्वस्थ्य जोसुकैलाई २ हप्ता एक्ल्याएर निगरानी गरिने छ।
सार्वजनिक स्थलहरू बन्द गरिएका छन्।
शाङ्घाइ शहरको डिज्नेल्यान्ड तथा बेइजीङ्ग नजिकैको ग्रेटवालका विभिन्न भाग बन्द गरिएका छन्।
विश्व स्वास्थ्य संगठनले चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको खतराको स्तर यकिन गर्न तथा त्यसले पार्न सक्ने विश्वव्यापी जोखिमबारे बताउन अहिले अलि चाँडै हुने जनाएको छ।
डब्लुएचओका प्रवक्ता तारिक जसारेभिचले सङ्क्रमणका सङ्ख्या बढ्न सक्ने र त्यसको स्पष्ट उपचार उपलब्ध नभइसकेको भन्दै सङ्क्रमणका लक्षणहरूको भने उपचार गर्न सकिने बताए।
यसअघि विश्वस्वास्थ्य सङ्गठनले सङ्क्रमणविरुद्ध चीनले देखाएको प्रतिक्रियाको प्रशंसा गरेको छ।


















