Prakash Adhikari January 26, 2020

सियाटल(संयुक्त राज्य अमेरिका), १२ माघ (बीबीसी) । विमाननिर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको विश्वको सबैभन्दा ठूलो जेट ‘७७७ एक्स’ को पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।

उक्त अमेरिकी कम्पनीले निर्माण गरेका दुईवटा विमान दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष संसारभरि रोक लगाइएको थियो। ती दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो।

बोइङले आफ्नो छवि सुधार्ने प्रयासस्वरूप नयाँ विमानको परीक्षण गरेको मानिएको छ।

अमेरिकाको सीयाटलनजिकै एउटा विमानस्थलबाट उडेको ७७७ एक्स विमानले चार घण्टापछि अवतरण गरेको थियो। तीव्र गतिमा हावा चलेकाले यस अघि दुईचोटि परीक्षण उडान स्थगित गरिएको थियो।

आगामी वर्ष सेवामा प्रवेश गर्नुअघि यो विमानको थप परीक्षण हुनेछ।

झन्डै २५२ फुट लामो यो विमान यही वर्ष प्रयोगमा ल्याइने योजना भए पनि केही प्राविधिक समस्याका कारण ढिलो हुन पुगेको हो।

विशेषता
यो मोडलको विमान बोइङको सफल ७७७ मिनी-जम्बो विमानको विशाल र परिष्कृत रूप हो। दोब्रिने विङ्टिप र संसारकै सबैभन्दा विशाल व्यावसायिक इन्जिन यो विमानका विशेषता हुन्।

बोइङ
बोइङका बजारनिर्देशक वेन्डी सौवर्स भन्छन्, “यो विमानले कम्पनीका रूपमा हामीले गर्न सक्ने भव्य कामको प्रतिनिधित्व गर्छ।”

नयाँ मोडलका ३०९ वटा विमान बेचिसकिएको बोइङले जनाएको छ। तिनको कुल मूल्य ४४.२ करोड अमेरिकी डलरभन्दा बढी हुन्छ।

यो विमानले अर्को कम्पनी एअरबसको ३६० यात्रु अट्ने ए ३५०-१००० विमानसँग प्रतिस्पर्धा गर्नेछ।

दुर्घटनाले सङ्कट

अक्टोबर २०१८ मा इन्डोनेशिया र गत वर्ष मार्चमा इथियोपियामा भएका भयानक विमान दुर्घटनापछि बोइङ कम्पनी सङ्कटमा परेको छ।

इथियोपियाको दुर्घटनामा एक नेपाली महिलासहित विभिन्न देशका नागरिकको मृत्यु भएकको थियो।

पाँच महिनाभित्र दुईवटा दुर्घटना भएपछि बोइङले ३७ म्याक्स मोडलका विमानको उत्पादन पनि स्थगित गरेको थियो।

बोइङलाई उड्डयन सुरक्षाबारे हेलचेक्र्याइँ गरेको आरोप लागेको छ भने ती दुर्घटनापछि विभिन्न अनुसन्धानहरू भइरहेका छन्।

थन्काइएका ७३७ म्याक्स विमानलाई पुन: उडाउन बोइङले सम्बन्धित निकायहरूबाट स्वीकृति लिने प्रयास गरिरहेको छ।

उक्त मोडलका बोइङ अहिलेसम्मकै सर्वाधिक विक्री भएको विमान हो।

विमान त्यसरी थन्काउनुपर्दा बोइङलाई नौ अर्ब अमेरिकी डलरभन्दा बढी घाटा लागेको अनुमान गरिएको छ।

Share Now

Leave a comment.