काठमाडौं, २३ माघ । भारतीय सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगमले नेपालमा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन आज हुने भएको छ ।
आयोजनाको विकासक सतलज जलविद्युत निगमका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले राजधानीमा बिहिबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार अपरान्ह ४ बजेदेखि राजधानीको होटल याक एण्ड यतिमा वित्तीय व्यवस्थापन सम्पन्न गर्ने संझौता हुँदैछ ।
भारत सरकारको स्वामित्वमा रहेको यो आयोजनाका निर्माणमा भारतका स्टेट बैंक अफ इण्डिया, एक्जिम बैंक, पञ्जाब नेशनल बैंक र क्यानरा बैंकसहित नेपालका नबिल बैंक र एभरेष्ट बैकले ऋण लगानी गर्ने भएका छन् । आयोजनामा ३० प्रतिशत आयोजनाले स्वपूँजीबाट जुटाउने छ भने ७० प्रतिशत ऋण लगानी रहने छ । आयोजनाले आगामी ५ बर्षमा अन्दाजी रु १ खर्ब १० अर्ब(११,०००करोड) लगानी गर्नेछ । त्यस ७८ अर्ब ६० करोड रुपैया बैंकहरुबाट कर्जा लिइने छ र २२ अर्ब ७४ करोड रुपैया आवश्यक परेको खण्डमा उपयोग गर्ने गरी स्टाण्ड बाई लाइन अफ क्रेडिटको रुपमा रहनेछ । ऋणको अंशमध्ये भारतीय बैंकहरुबाट ८५ अर्ब ९८ करोड र नेपाली बैंकहरुबाट १५ अर्ब ३६ करोड ऋण लगानी हुनेछ ।
आयोजनाको उत्पादनतर्फ ९१ अर्ब ५८ करोड निर्माण अवधिको ब्याज १८ अर्ब ७० करोड र वित्तीय शुल्क ३२ करोड अनुमान गरिएको छ । आयोजनाको प्रशारणतर्फको लागत १९ अर्ब ७८ करोड निर्माण अवधिको व्याज २ अर्ब ११ करोड वित्तीय शुल्क ७ करोड हुनेछ ।
पत्रकार सम्मेलनमा नेपाली ऋण लगानीकर्ता बैंक नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष अनिलकेशरी शाहले नेपालमा निर्माण भैरहेको यो आयोजनामा लगानी गरेर ठूला आयोजनामा लगानीको अनुभव लिने अपूर्व अवसरलाई नेपाली बैंकहरुले सदुपयोग गर्न खोजेको बताउनुभयो ।
आजै अपरान्ह हुने वित्तीय व्यवस्थापन संझौतामा भारत र नेपालका ऋण लगानी गर्ने बैंकहरु र आयोजनाको विकासक सतलज जलविद्युत निगम अरुण ३ पावर डेभलपमेण्ट कम्पनी प्रा.लि.का प्रतिनिधिहरुले हस्ताक्षर गर्नु हुनेछ ।
वित्तीय व्यवस्थापन संझौताको हस्ताक्षर कार्यक्रममा भारत सरकार वरिष्ठ अधिकारी, भारतीय राजदूतावासका पदाधिकारी र विकासक सतलज जलविद्युत निगमका प्रतिनिधिहरुको सहभागिता रहने छ ।
त्यस्तै नेपालका तर्फबाट उर्जामन्त्री बर्षामान पुन,अर्थमन्त्री डा.युवराज खतिवडा,लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद लामिछानेसहित बोर्डका सदस्यहरु,उर्जा मन्त्रालयका सचिव,ऊर्जा मन्त्रालय, विद्युत विकास विभाग,विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरु सहित विद्युतको क्षेत्रमा कार्यरत विद्युत उत्पादक र प्राविधिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरु उपस्थित हुनुहुने बताइएको छ ।
कूल ९०० मेगावाट क्षमताको यो आयोजना निर्माणको लागि सतलज जलविद्युत निगमले जलाशय सहितबाँधको कामको ठेक्का प्रतिस्पर्धाको आधारमा भारतीय बृहत् निर्माण कम्पनी जयप्रकाश एशोसिएट्स(जेपी), पावर हाउसको निर्माणको ठेक्का पटेल इञ्जिनियरिड।, हाइड्रो मेकानिकल कामको जिम्मेवारी ओम मेटल, इलेक्ट्रो मेकानिकल संयन्त्र र उपकरणहरुको निर्माण र आपूर्तिको काम भारतमा भारी विद्युतीय उपकरण निर्माण गर्दै आएको भेललाई दिएको छ ।
बार्षिक ४ अर्ब १ करोड ८९ लाख युनिट विद्युत उत्पादन गर्ने यो आयोजना विद्युत निर्यात गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत भारतको सतलज जलविद्युत निगमलाई निर्माणको लागि छनोट गरिएको हो । यसको निर्माण लागत १ अर्ब ४ करोड अमेरिकन डलर अनुमाति गरिएको छ ।
निर्माण स्वामित्व ग्रहण सञ्चालन र हस्तान्तरण बुट अन्तरगत निर्माण भएको यो आयोजनाको निर्माण र सञ्चालन गर्न सतलज जलविद्युत निगम अरुण ३ पावर डेभलपमेन्ट कम्पनी नामक भारतसरकार र हिमाञ्चल सरकारको संयुक्त कम्पनी स्थापना गरिएको छ । आयोजनाको सञ्चालन अबधि २५ बर्ष राखिएको छ । २५ बर्षपछि सतलज जलविद्युत निगमले आयोजना नेपाल सरकारलाई बुझाउने छ ।
आयोजनाले उत्पादन थालेपछि २१.९ प्रतिशत उर्जा सित्तैमा नेपाल सरकारलाई दिने प्रतिबद्धता संझौतामा गरेको छ । यसले निर्माणावधिमा नेपाल र भारतमा ३ हजार जनालाई रोजगारी दिने अनुमान गरिएको छ । अध्यक्ष शर्माले दिनुभएको जानकारी अनुसार अहिले आयोजना निर्माण स्थलमा २ हजार कामदारहरु खटिएका छन र ती मध्ये आधा नेपाली रहेका छन् ।
सन २०१८बाट निर्माणको चरणमा गैसकेको यो आयोजन सन २०२४ मा सम्पन्न हुने कार्यतालिका छ ।
नेपालको पूर्वमा संखुवासभा जिल्लामा अवस्थित यस आयोजना निर्माणकालागि अरुण नदीमा ४ सय ६६ मिटर लामो र ७० मिटर अग्लो बाँध निर्माण गरिनेछ । ६ वटा स्लुइस गेट रहने बाँधको पोखरीमा १ करोड ३९ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ ।
बाँधमा सचित पानीलाई ११.७४ किमी लामो र ९.५ मिटर ब्यास भएको सुरुड।बाट दुईवटा स्टीललाईन प्रेसर साफ्टहुँदै ४ वटा पेनस्टक पाइपबाट विद्युत गृहमा लगि विद्युत उत्पादन गरिनेछ र निसृत पानी १० मिटर व्यासको १सय ९२ मिटर लामो टेलरेस सुरुड।बाट नदीमा नै पुर्याएर छोडिने छ ।
आयोजनाको विद्युत गृह भूमिगत बन्नेछ । विद्युत उत्पादनका लागि विद्युत गृहमा २२५ मेगावाट क्षमताका ४ वटा ठाडो फ्रान्सिस टर्वाइनहरु राखिनेछन् । पावर हाउसको ग्रस हेड ३०८ मिटर र डिजाइन हेड २८६.२१ मिटर रहनेछ ।
आयोजनाबाट उत्पादित विद्युत पावर हाउस दिदिड.बाट ढल्केबारसम्म निर्माण हुने ३०० किलोमिटर लामो ४०० केभी डीसी प्रशारण लाइनमार्फत नेपाल भारतको सीमापार विद्युत प्रशारण लाईनमार्फत भारतको मुजफफपुर हुँदै भारतीय विद्युत प्रणालीमा आबद्ध गरिनेछ ।
सतलज जलविद्युत निगमले आयोजना कार्यान्वयनको लागि २००८ मा नेपाल सरकारसंग संझौता गरेको थियो ।२००६मा नेपाल सरकारले गरेको विश्वव्यापी टेण्डरमा सहभागी भएर स्वच्छ मूल्यांकनबाट सतलजले सो आयोजना निर्माणको जिम्मा पाएको हो ।
सुरुमा ४०२ मेगावाट क्षमता आँकलन गरिएको सो आयोजना विस्तृत परियोजना प्रतिवेदन तयार पार्दा ९०० मेगावाट क्षमतामा विस्तार गर्न सकिने देखिएको थियो ।


















