कीर्तिपुर(काठमाडौं), २२ माघ । आइसिसी लिग डिभिजन २ प्रतियोगिता अन्तरगतको नेपाल,ओमान र संयुक्त राज्य अमेरिकाको त्रिकोणात्मक श्रृखला अन्तरगतको पहिलो खेलमा नेपाल ओमानसंग १८ रनको झिनो अन्तरले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको थियो।
खेलको सुरुवातमा नेपालले दबाब बनाए पनि ओमानका मध्यक्रमका ब्याट्सम्यान मोहम्मद नादीमले पारी सम्हाले। पाँच विकेट गुमाएर ५७ रनमा धर्मराएको ओमानको योगफल उकास्न नादीमले अर्धशकीय पारी खेले। उनले ६९ रनको योगदान दिए। ओमानका लागि सन्दीप गौडले ३३ तथा नसिम खुशीले २८ रन जोडे भने बिलाल खान ८ रन बनाएर अविजित रहे।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै नौ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिएका थिए । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सहभागी भएका सुशन भारीले १० ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने १० ओभर बलिङ गर्दा पनि घरेलु मैदानमा विकेटविहीन बने भने पारस खड्काले ७ ओभर बलिङ गर्दा पनि उही हालत भयो । त्यस्तै, अविनाश बोहराले पनि ३८ रन खर्चिए।
१ सय ९८ रनको लक्ष्य लिएको नेपालको ओपनिङ नै धरापमा पर्यो। ओपनिङमा आएको कप्तान ज्ञानेन्द्र मल्ल १२ बल खेलेर १ रन मात्रै बनाएर आउट भए।
त्यस्तै, नेपालका आशा गरिएका ब्याट्सम्यान पारस खड्का पनि १४ बलमा ३ रन बनाएर बाहिरिन पुगे। नेपालको पारी सम्हाल्नेक्रममा सरद भेष्वाकरले अर्धशतकीय पारी खेले। उनले १सय ८ बलमा ५५ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ३६ रन बनाए। आरिफ शेखले १० बलमा ६ रन बनाए भने रोहित पौडेलले खाता नै खोल्न सकेनन्। विनोद भण्डारीले २५ बलमा २६ रन बनाए। करण केसीले पनि रन जोड्न सकेनन् । बलरको रुपमा चिनिएका सन्दीप लामिछानेले २७ बलमा २८ रन बनाए। सुशान भारी र अभिनाश बोहोराले समान ८ रन बनाए। यसरी नेपालले जम्मा १सय ७९ रन मात्रै बनाउन सक्यो।


















