काठमाडौं, २९ माघ । नेपालका सिमेण्ट उद्योगीहरुले सडकको पीचमा विटुमिनको विकल्पमा सिमेण्टको प्रयोग गर्न माग गरेका छन् ।
सडकको निर्माण र मर्मत संभारमा सिमेण्टको उपयोगिताका सम्बन्धमा छलफल गर्न नेपाल सिमेण्ट संघको आयोजनामा बुधबार राजधानीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष ध्रुब थापाले केही वर्षअघिसम्म भारतबाट आयात गर्नुपर्ने सिमेन्टमा अहिले मुलुक आत्मनिर्भर भइसकेको बताउदै सिमेण्ट कारखानाहरुको उत्पादन क्षमता आन्तरिक मागभन्दा बढी भएकोले कि निर्यात बजार खोज्नु पर्ने कि निर्माणका क्षेत्रमा सिमेण्टको उपयोग बढी हुने क्षेत्र पहिल्याउन समयको दबाब परिसकेको बताउनुभयो ।
हाल नेपालमा उदयपुर र हेटौंडा दुई सरकारी सहित निजी क्षेत्रका गरी कुल ६१ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । विद्युतको भरपर्दो आपूर्ति सुरु भएकोले उद्योगहरु पूर्ण क्षमतामा चल्न सक्ने अवस्था छ । यसैले संभाव्य क्षेत्रमा सिमेण्टको उपयोग बढाउन अत्यावश्यक भैसकेको छ ।
अन्तरक्रिया कार्यक्रम उद्योग राज्यमन्त्री मोतिलाल दुडगले पनि नेपालमा बढी उत्पादन भएको सिमेन्ट भारतीय सीमावर्ती क्षेत्रमा निर्यात गर्न सकियो भने नेपाली सिमेण्टले ठूलो बजार पाउन सक्ने बताउनुभयो । उहाँले सिमेण्ट निर्यातका सम्बन्धमा भारत सरकारसँग पहल गर्ने बचन पनि दिनुभएको छ ।
‘तपाईहरु गुणस्तरीय सिमेन्टको उत्पादन बढाउनु होस्, म भारत सरकारसँग पहल गर्छु, पाम आयलमा केही समस्या देखिएको थियो, त्यसलाई पनि वार्तामार्फत समाधान गरिसकेको छु, सिमेन्ट निर्यातको समस्यालाई पनि समाधान गर्छु,’ दुगडले अन्तरक्रिया कार्यक्रम बताउनुभयो ।
विटुमिनको विकल्पमा सिमेण्ट
हाल मुलुकमा १ लाख किलोमिटरको सडक विस्तार भइसकेको छ । त्यस्तै, दीगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्ममा मुलुकमा २ लाख किलोमिटर सडक निर्माण गर्नुपर्ने अवस्था छ । त्यसका लागि अर्बौ रुपैयाँ बराबरको बिटुमिन आवश्यक पर्छ ।
सडक डिभिजनका उपमहानिर्देशक राजेन्द्रराज शर्माका अनुसार मुलुकमा निर्माण भइसकेको १ लाख किलोमिटर सडकमध्ये १५ हजार किलोमिटर सडक राष्ट्रिय र बाँकी ८५ हजार किलोमिटर सडक प्रदेशको मातहतमा छन् । त्यस्तै, कुल १ लाख किलोमिटर सडकमध्ये एक चौथाई मात्रै सडक गुणस्तरीय छन् ।
सडक इञ्जिनियरहरुका अनुसार बिटुमिनको प्रयोग गरी बनाइएका सडकको आयु अधिकतम १५ वर्ष देखिएको छ तर सिमेन्टको प्रयोग भएका सडकको आयु ३० देखि ५० वर्ष भएको पाइएको छ ।
सरकारले आर्थिक वर्ष २०७४। ७५ मा वर्ष मात्रै ६५ हजार ७ सय ९५ मेट्रिक टन बिटुमिन आयात गरेको थियो । यसक्रममा ३ अर्ब ३४ करोड रुपैयाँको बाहिरिएको थियो ।सडक निर्माणमा सिमेन्टका प्रयोग गर्दा निर्माण खर्च विटुमिनको भन्दा केही बढी भए पनि मर्मतमा १३ प्रतिशत सस्तो हुने देखिएको छ ।
बिटुमिनले कालोपत्रे गर्ने सडकमा सडक विभागले बर्षेनी ३६ प्रतिशत निर्माणमा र ६४ प्रतिशत रकम ममर्तमा गर्दै आएको छ । सिमेन्ट प्रयोग गरी बनाइएका सडक निर्माणमा ९१ प्रतिशत र ९ प्रतिशत मात्रै मर्मतमा खर्च हुन्छ । विज्ञहरुका अनुसार निर्माणमा लागेको अधिक रकम मर्मत खर्चमा भएको न्यूनताबाट पूर्ति हुने भएकोले प्रकारान्तरमा सिमेण्टको उपयोग लागतका हिसाबले पनि किफायती हुने देखिएको छ । मर्मत र आयुका हिसाबले १३ प्रतिशत सस्तो पर्न जान्छ ।
अहिले सडक विभागले अधिक पानीको मूल निस्कने र पानी जम्ने क्षेत्रमा सडक बनाउदा विटुमिनको कालोपत्रेको विकल्पमा सिमेण्ट ढलान गर्ने गरेको छ । ढलान सडकमा रातिको समयमा बढी ‘रिफ्लेक्टिभिटी’ हुने भएकाले सवारी चालकलाई पनि सहज हुने गर्दछ ।
तर निर्माणका क्रममा बिटुमिनबाट बनाइएको सडक तुरुन्तै प्रयोग गर्न मिल्छ भने सिमेन्टबाट बनाइएको सडक बढीमा २८ दिनसम्म प्रयोग गर्न मिल्दैन ।
सडक विभागका महानिर्देशक केशवप्रसाद शर्माले सिमेण्टबाट सडक निर्माण गर्ने विकल्पलाई ब्यापक रुपमा अबलम्बन गर्नका लागि केही मौलिक परीक्षण आवश्यक भएको बताउनुभएको छ । उहाँले उद्योगीहरुलाई कम्तिमा २ सय मिटरको खण्ड खण्ड गरी २ किलो मिटर सडक सिमेण्टले बनाएर यसको परीक्षण गरेपछि ब्यापक रुपमा लैजान सकिने बताउनुभयो । सिमेण्ट उपयोग गरेर बनाउने शहरी, फिडर र राजमार्गका सडकको रोडा, डण्डी र सिमेण्टको मिलावट, तिनको टिकाउ र मर्मत खर्चको परीक्षण हुन बाँकी भएकोले यस्तो परीक्षण जारी राख्दै सडकका भिरालो(स्लोप), ग्याभियन वाल र रिटेनिड. बालमा सिमेन्टको उपयोगिता बढाउन सकिने बताउनुभयो ।
महानिर्देशक शर्माले सडक लगायत ठूला आयोजना निर्माणका लागि हालको जस्तो साना बोरामा प्याकेजिड. नगरी फरक ढंगको प्याकेजिड. र भण्डारणको व्यवस्था गर्ने हो भने उत्पादन लागत घटन सक्छ ।
नेपाल सिमेण्ट उद्योग संघका अध्यक्ष ई. ध्रुब थापाका अनुसार नेपालका ६१ वटा उद्योगमध्ये ४० वटा ग्रिन्डिङ प्लान्ट र २१ वटा इन्टिग्रेटेड उद्योग छन् ।
सिमेन्टको माग प्रत्येक वर्ष १० प्रतिशतले बढिरहेको छ भने आगामी वर्षमा १२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा क्लिङकरको माग ८ मिलियन टन भने उत्पादन क्षमता ८.२ मिलियन टन क्षमताको छ । त्यस्तै, अर्को वर्ष क्लिङकरको माग १२.२० मिलियन टन र क्षमता २५ मिलियन टनको हुने अनुमान गरिएको छ ।
अहिले प्रतिबोरा ७ सय ८० रुपैयाँ पर्ने सिमेन्टलाई ५ सय ७५ रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट उद्योगीले बचन दिएको सडक विभागको भनाइ छ ।