सानेपा(ललितपुर),२९ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले पार्टीको क्रियाशील सदस्यता वडा तहबाटै ५० प्रतिशतले बढाउने निर्णय गरेको छ । क्रियाशील सदस्यता थप गर्ने निर्णय संगै क्रियाशील सदस्यता वितरण र पार्टीको अन्तरिम संरचना समायोजनको समय सीमा पनि संशोधन भएको छ ।
क्रियाशील सदस्यता वितरण
नेपाली कांग्रेसले पार्टीभित्रको विवाद निरुपण गर्दै संगठनलाई चुस्त र दुरुस्त बनाउनको लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ७१ र ५० (५) बमोजिमको अधिकार प्रयोग गरी विधानको धारा ४ (२) – “एक वर्ष पुगेपछि”, धारा ४ (१०) (ञ) –“छ महिना” , धारा ४ (१२) (ख) – “नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको” , धारा ३५ (२) (घ) – “भन्दा कम्तिमा एक वर्ष” र “तीन महिना” र धारा ५० (६) – “छ महिना अगावै” र “छ महिना” भन्ने प्रावधानहरु हटाएको छ ।
कांग्रेसले वडामा हाल विद्यमान नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गदै भनेको छ,
तर, कुनै वडामा विधान बमोजिम वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि आवश्यक पर्ने संख्या भन्दा क्रियाशील सदस्यताको संख्या कम भएमा विधान बमोजिम कार्यसमिति र क्षेत्रीय प्रतिनिधि हुन आवश्यक पर्ने संख्यासम्म क्रियाशील सदस्यता वितरण गर्न सकिनेछ ।
साथै नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्दा वडाको जनसंख्याको बनोटलाई मध्यनजर गरी समानुपातिक समावेशीतालाई ध्यानमा राख्नुपर्ने बताएको छ ।
त्यस्तै विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि २०७६ फाल्गुण १६ गते देखि २०७६ चैत्र मसान्तसम्म कायम गरिएको छ ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तसम्म बढाएको छ भने नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गते भित्र गर्नुपर्ने निर्णय गरिएको छ ।
उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्त भित्र तोकिएको छ भने त्यसउपर उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेसम्म बढाइएको छ । त्यस्ता उजुरी÷पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेसम्म तोकिएको छ ।नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गते भित्र तोकिएको छ ।केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्त कायम गरिएको छ ।
अन्तरिम संरचनामा
नेपाली कांग्रेस पार्टी संगठनको अन्तरिम संरचनाको समायोजनको कार्य सम्पन्न गर्नका लागि पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ फाल्गुण १५ गते भित्र तोकिएको छ ।
यस्तो समायोजनको बाँकी कार्य तत्काल सम्पन्न गराउन केन्द्रीय कार्यालयले आवश्यक कार्य गर्ने निर्णय पनि कांग्रेसले गरेको छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रिय कार्यालय बीपी नगर सानेपामा बसेको बैठकले वर्तमान सरकारले राजनैतिक पूर्वाग्रह राखी भिन्न राजनीतिक आस्था राख्ने राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई सुनियोजित रुपमा झुठा मुद्दा लगाउने, दमन गर्ने, सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने तथा संविधानको मर्म एवं भावना विपरितका विधेयक र जनविरोधी क्रियाकलाप गर्न थालेको ठहर गर्दै त्यसका विरुद्ध चरणवद्ध विरोधका कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ ।





















