काठमाडौं, १८ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आइतबार बिहान साढे ११ बजे बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने बैठकमा राष्ट्रपतिको कोटाबाट राष्ट्रिय सभामा मनोनित गरिने एक सदस्यको नियुक्ति र अमेरिकासंग भएको मिलिनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट(एमसीसी सम्झौता) अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
गएको बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सर्वसम्मत निर्णय गरेको केही समयपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सो निर्णयप्रति विमति जनाउदै आफूले त्यसलाई कार्यान्वयन गर्न नसक्ने जानकारी दिनुभएको थियो ।
त्यसयता उहाँले सो निर्णयलाई निस्तेज बनाउन पार्टीभित्र अभ्यास गर्दै आउनुभएको छ । उहाँ राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा हुनुहुन्छ ।
ओली बाहेक सचिवालयका अधिकांश सदस्य भने गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने अडानमा देखिनुभएको छ ।
शुक्रबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमलटारमा बसेको ओली बाहेकका शीर्ष नेताको बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयनमा जोड दिएको थियो।
अध्यक्ष प्रचण्डसहित पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतले भने पार्टीले गरेको निर्णय अध्यक्षबाट पालना नभए अनर्थ हुने भन्दै यसले भयानक परिणाम ल्याउने चेतावनी दिएका दिइसक्नुभएको छ।