बैंकक(थाइल्याण्ड), १८ फागुन । सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसीसी कपको छनौट चरणको रुपमा थाइल्यान्डमा भैरहेको एसिसी इस्टर्न रिजन ट्वान्टी २० कपको दोस्रो खेलमा नेपाललाई हंगकंगले १ सय ५५ रनको चुनौती दिएको छ ।
थाइल्यान्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो।
खेलमा हङकङका निजाकत खान मोहमदले सर्वाधिक ४८ तथा हरुन मोहम्मद अर्सदले २७ रनको योगदान गरे। हंगकंगका लागि साहिद वासिफ २६ रनको योगदान दिए भने जेम्स जोन एट्किन्सन १३ रनको । अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन्।
हंगकंगलाई रोक्ने क्रममा नेपालका सन्दीप लामिछाने र सुशन भारीले २ । २ तथा कुशल मल्लले १ विकेट लिए।
थाइल्याण्डमा जारी प्रतियोगिताको पहिलो खेलमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्य भेद्न गर्न नसकेर शनिबार २२ रनले पराजित भएको नेपाल एसिया कप खेल्ने धोको पूरा गर्न आजको खेल जित्नैपर्ने हुन्छ।
जारी प्रतियोगिताको पहिलो खेल जितेर मलेशिया र सिंगापुर २ । २ अंकसहित अंक तालिकामा शीर्षमा रहेका छन् ।
जारी प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया र थाइल्यान्ड समावेश छन्।
नेपालले तेस्रो खेल बुधबार थाइल्यान्डविरुद्ध र अन्तिम खेल मार्च ६ गते सिङ्गापुरविरुद्ध खेल्नेछ।
राउन्ड रोबिन लिग पद्धतिमा हुने प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली एसिया कपको अन्तिम छनोटमा पुग्नेछन्।
पाँच राष्ट्रको सहभागिता रहेको यो प्रतियोगिताको शनिबार नै भएको पहिलो खेलमा सिंगापुरले थाइल्यान्डलाई ४३ रनले पराजित गरिसकेको छ।
नेपालसहित सिङ्गापुर, हङकङ, मलेसिया, र थाइल्याण्ड सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले वेस्टर्न रिजनबाट आएका कुवेत र युएईसँग खेल्ने छन्।
यी चार टोलीबीचको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउने छ।