Prakash Adhikari March 1, 2020

 

बैंकक(थाइल्याण्ड), १८ फागुन । विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एसीसी एसिया कपमा सहभागी बन्न संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया कपको छनौट चरण अन्तरगत भएको एसीसी पुरुष पूर्वी क्षेत्र प्रतियोगिता अन्तरगतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाली टीम दोस्रो खेलमा हंगकंगसंग ४३ रनले पराजित भएको छ ।

Image
आइतबार बिहान भएको खेलमा टस जितेर फिल्डिड. रोजेको नेपालका बलरहरुले हंगकंगका ब्याट्सम्यानहरुलाई रोक्न सकेनन । परिणाम हंगकंगले पनि मलेशियाले जस्तै १ सय ५४ रन जोड्यो र नेपाललाई १ सय ५५ रनको लक्ष्य पस्कियो । जवाफमा उत्रेको नेपाल १८ ओभर एक बलमा १ सय ११ रनमा अलआउट भयो ।

राम्रो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि राम्रो साझेदारी गरेका थिए । कुशलले १९ रन बनाए । त्यसपछि क्रिजमा आएका पारस खड्का मात्र ४ रनमा पेभेलियन फर्किन बाध्य भए भने उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि ५ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका पवन सर्राफ १ रनमा पेभेलियन फर्किदा नेपालले ७१ रनमा ४ विकेट गुमायो ।

नेपालको मध्यक्रमका खेलाडी हङकङका बलरसामु धेरै बेर क्रिजमा टिक्न सकेनन् । विनोद भण्डारी ५ रनमा आउट हुँदा नेपालको स्कोर ७९ रन थियो ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल ४६ रनमा पेभेलियन फर्किएपछि नेपाल निकै दबावमा पर्यो ।

नेपाली टिमको ब्याटिङ निकै ध्वस्त बन्यो । करण केसी पनि मात्र ७ रनमा आउट भएपछि नेपालको खेल हातबाट बाहिरीयो । सो बेला नेपालले ९८ रन बनाएको थियो ।

कुशल बलर सन्दीपले ब्याटिड.मा खाता खोल्न सकेनन् । आरिफ शेख १० रनमा आउट भए । नेपालले १७ औं ओभरमा मात्रै तीन विकेट गुमायो ।

नेपाललाई रोक्ने क्रममा हंगकंगका हारोन मोहम्मद अर्सदले ५ तथा अफदाव हुसेनले ३ विकेट लिए ।

यस अगाडि थाइल्यान्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो।

खेलमा हङकङका निजाकत खान मोहमदले सर्वाधिक ४८ तथा हरुन मोहम्मद अर्सदले २७ रनको योगदान गरे। हंगकंगका लागि साहिद वासिफ २६ रनको योगदान दिए भने जेम्स जोन एट्किन्सन १३ रनको । अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन्।

हंगकंगलाई रोक्ने क्रममा नेपालका सन्दीप लामिछाने र सुशन भारीले २ । २ तथा कुशल मल्लले १ विकेट लिए।

लगातार दुई खेलमा भएको पराजयले नेपाली टोली एसीसी मेन्स् इस्टर्न रिजनबाट शीर्ष २ मा पर्ने संभावना निकै झिनो भएको छ । नेपालले अब आयोजक राष्ट्र थाइल्याण्ड र सिंगापुरसंग खेल्न बाकी छ ।

जारी प्रतियोगिताको पहिलो दिनमा भएका खेल मलेशिया र सिंगापुरले जितिसकेका छन् ।

नेपालले तेस्रो खेल बुधबार थाइल्यान्डविरुद्ध र अन्तिम खेल मार्च ६ गते सिङ्गापुरविरुद्ध खेल्नेछ।

राउन्ड रोबिन लिग पद्धतिमा हुने प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली एसिया कपको अन्तिम छनोटमा पुग्नेछन्।

नेपालसहित सिङ्गापुर, हङकङ, मलेसिया, र थाइल्याण्ड सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले वेस्टर्न रिजनबाट आएका कुवेत र युएईसँग खेल्ने छन्।

यी चार टोलीबीचको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउने छ।

Share Now

Leave a comment.