Prakash Adhikari March 1, 2020

काठमाडौं, १८ फागुन । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चारमन्त्रीले कमिशन मागेको प्रकरणलाई ढाकछोप गर्न नेपाल ट्रष्टको श्वेतपत्र ल्याएर सत्य तथ्य बंग्याएर कांग्रेसका नेताहरुलार्ई मुछ्ने दुस्प्रयास भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै प्रतिपक्षी दलका समेत नेता रहनुभएका पूर्व प्रधानमन्त्री देउवाले नेपाल ट्रष्टको जग्गा लिजमा दिने विषयमा आफूले सरकारको नेतृत्व गर्दा कुनै पनि निर्णय नगरेको दाबी गर्नुभएको छ।

नेपाल सरकारले जारी गरेको नेपाल ट्रष्टको श्‍वेतपत्रमा सभापति देउवा प्रधानमन्त्री हुँदा लिजमा दिने काम भएको उल्लेख भएपछि देउवाले आइतबारको प्रतिनिधिसभाको बैठकमा यसबारे स्पष्ट पार्नुभएको हो। ‘मन्त्रिपरिषद्‍ बैठकबाट मेरो प्रत्यक्ष संलग्‍नतामा नेपाल ट्रस्टको जग्गा लिजसम्बन्धी निर्णय भएको छैन। राजनीतिक पूर्वाग्रहमा मेरो नाम जोड्ने विषयमा गम्भीर आपत्ति छ’ देउवाले भन्नुभयो।

उहाँले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको कुरा मोड्न श्‍वेतपत्र जारी गरेको पनि आरोप लगाउदै भन्नुभयो, ‘गोकर्ण रिसोर्ट लिज प्रकरणको ध्यान मोड्ने प्रयत्‍न भएको छ। नेपाल टेलिकमको प्रकरणमा अर्बौँ भ्रष्टाचार भएको ध्यान मोड्ने प्रयत्न भएको छ’ देउवाले भने।

७० करोड कमिसन मागेको प्रकरणको छानविन अघि नबढेको मा आक्रोश प्रकट गर्दै उहाँले प्रश्न गर्नुभयो, बाँस्कोटाले अडियोमा हामी भनेर कस्लाई संकेत गर्नुभएको हो ? सञ्चारमन्त्रीले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक हप्ता भइसक्दा पनि गम्भिर छानविन नहुनुको पछाडि के नियत छ ?’ उहाँले भन्नुभयो, ‘सञ्चारमन्त्रीले हामीलाई कति आउँछ भनेर प्रष्ट बोलेको सुनिन्छ। म प्रधानमन्त्रीलाई के सोध्‍न चाहन्छु हामी भनेर कसलाई भनेका हुन? कोको हो ? प्रष्ट गर्नुहोस्।’

कांग्रेस सभापति देउवाले केही दिनअघि बाँस्कोटा मुछिएको अडियोबारे बोल्दै प्रधानमन्त्रीले त्यसलाई नक्कली अभनेकोप्रति आपत्ति जनाउदै भन्नुभयो, ‘त्यो अडियोको छानविन हुनुपर्छ। छानविन हुनुपहिले नै प्रधानमन्त्रीले नक्कली भन्‍नुभयो। यसले छानविन प्रभावित हुन्छ कि हुँदैन ?’

कांग्रेस सभापति देउवाले कोरोना भाइरसको प्रकोपको जोखिम न्यूनीकरण गर्न सरकारले सम्पूर्ण प्रबन्ध मिलाउन र विदेशमा रहेका सबै नेपालीलाई पनि यस भाइरसबाट जोगिएर बस्‍न आग्रह गर्नुभएको थियो ।

Share Now

Leave a comment.