Prakash Adhikari March 11, 2020

 

काठमाडौं, २८ फागुन । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् ।

बुधबार सिंहदरवारमा भएको सर्वदलीय बैठकले सम्पूर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने सहभागीहरुले जोड दिएका हुन् ।

‘कोरोना संक्रमण रोकथामका लागि कसरी अघि बढ्ने र के–के विधि प्रक्रिया अपनाउने भन्नेमा छलफल भयो’, संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठले छलफलपछि जानकारी दिनुभयो ।

बैठकमा नेपालमा अहिलेसम्म एकजनामा कोरोना संक्रमण देखिएको संक्रमितको उपचार समेत भैसकेकाले नेपाल कोरोना रोकथामका लागि सक्षम छ भन्ने विश्वलाई सन्देश दिन सफल भएको बताइएको थियो । बैठकले आगामी दिनमा पनि उच्च सतर्कता अपनाउनुपर्ने निर्णय गरेको छ ।

‘कोरोना संक्रमण भएका देशबाट आवतजावतमा प्रवेशमा रोक लगाउने, कोही आइहाले तिनको व्यवस्थापन कसरी गर्ने ? यसबारे सचेतना कसरी अपनाउनेर त्यति गर्दागर्दै पनि कोरोना संक्रमण देखिए उनीहरुलाई राख्ने क्वारेन्टाइनको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भयो’, श्रेष्ठले भन्नुभयो ।

बैठकमा सहभागी प्रतिनिधिहरुले सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेकाप्रयास पर्याप्त नभएको भन्दै त्यसतर्फ ध्यान दिन सत्तारुढ दल बाहेकले सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले सबै मन्त्रालयलको समन्वयमा एकीकृत ढंगले अगाडि बढ्ने सरकारको प्रयासलाई सकारात्मक लिँदै अझ पर्याप्त पूर्वाधारको विकासमा जोड दिन सुझाव दिएका थिए ।

कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी हुनुहुन्थ्यो । बैठकमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ र काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा सहभागी हुनुहुन्थ्यो ।

बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना पेश गर्नुभएको थियो ।

Share Now

Leave a comment.