Prakash Adhikari March 12, 2020

ललितपुर, २९ फागुन । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को फागुन २८ गते बिहिबार ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरु र नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका स्वर्गीय शेर्मा नेपाली कांग्रेस पाँचथरका एक अग्रज, निष्ठावान नेता एवं एक सच्चा अभिभावक हुनुहुन्थ्यो ।

स्वर्गीय शेर्मा वि.सं. २०३६ को जनमत संग्रहमा बहुदल प्रचार प्रसार समिति पाँचथरको अध्यक्ष र भू.पू.सांसद गणेशप्रसाद रिजालको सभापतित्वमा रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको उपसभापति हुनुहुन्थ्यो ।

२०४८ अषाढ १२ गते राष्ट्रिय सभाको सांसद हुनु भएका स्वर्गीय शेर्मा २०५१ कार्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा राष्ट्रिय सभा सांसद पदबाट राजीनामा गरी पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं। २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनुभएको थियो । २०५५ मा पार्टीको केन्द्रीय समन्वय विभागको सदस्य, पार्टीको दशौँ (२०५७) र एघारौँ महाधिवेशन (२०६२) मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापति हुनुहन्थ्यो ।

वि.सं. २०५८ आश्विन ९ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित र पार्टीको एघारौँ महाधिवेशनपछि २०६२ कार्तिक १ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा पुनः मनोनित हुनु भएको थियो ।

वि.सं. २०४२ को सत्याग्रहमा काठमाडौँमा पक्राउ परी झापा चन्द्रगढी जेलमा ६ महिना जेल जीवन बिताउनु भएका स्वर्गीय शेर्मा २०४६ मा प्रजातन्त्र वहालीका लागि भएको ऐतिहासिक आन्दोलन अघि र त्यसपछिका आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र जेल जीवन विताउनु भएको थियो ।

पाँचथरको साराङडाँडा—७ निगालेमा वि.सं. २००० असोज १२ गते जन्मनु भएका स्वर्गीय शेर्माको पत्नी, दुई छोरा र पाँच छोरी हुनुहुन्छ ।

उहाँको पार्थिव शरीर भोलि फागुन ३० गते विहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने नेपाली कांग्रेसले जनाएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को निधनले मलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको उल्लेख गर्दै भन्नुभएको छ ,’ स्वर्गीय शेर्माले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’

सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो दुःख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना गर्नुभएको छ । सभापति देउवाले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

Share Now

Leave a comment.