काठमाडौं, २९ फागुन। प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको मर्जरपछि बिहिबारदेखि संयुक्त कारोबार सुरु भएको छ ।
प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा आयोजित विशेष समारोहमा प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको थियो ।
गत असारमा प्राइम कमर्सियल बैंकले कैलाश बैकलाई प्राप्त गर्ने सम्झौता गरेको थियो ।
राष्ट्रबैंकले अनुमति दिएसँगै बिहीबारबाट संयुक्त कारोबार शुरु भएको हो । राष्ट्र बैंकले १८ फागुनमा वित्तीय संस्था प्राप्ति गर्ने अन्तिम स्वीकृत दिएको थियो । २१ फागुनमा कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृति लिएसँंगै बिहीबारबाट प्राइम कमर्सियल बैंकको नामबाट दुवैको संयुक्त कारोबार शुरु भएको हो ।
एकीकृत कारोबार सलगत्तै कुनै एक अर्को राम्रो बैंक पाए गाभ्ने प्रक्रिया अघि बढाउने मर्जर कमिटिका संयोजक एवम् सञ्चालक गजेन्द्र विष्टले लगानीकर्तालाई सकेसम्म बढी लाभांश दिने उद्देश्यले अन्य बैंकलाई पनि गाभ्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
कार्यक्रममा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीको सहभागिता थियो ।
दुवै बैंकको बीच कैलाशको १०० कित्ता शेयर बराबर प्राइमको ९४ कित्ता शेयर रहने गरी समझदारी भएको थियो ।
कैलाशको प्राप्तिपश्चात् प्राइमको कूल चुक्ता पूँजी रु १३ अर्ब ९७ करोड पुगेको छ । यस्तै कूल निक्षेप रु एक १ खर्ब ३० अर्ब, र ऋण लगानी रु ए १ खर्ब १५ अर्ब पुगेको छ ।
यसैगरी शाखा सङ्ख्या १ सय ९९ र कर्मचारी सङ्ख्या १ हजार ५ सय पुगेको छ ।


















