Prakash Adhikari March 27, 2020

 

काठमाडौं, १४ चैत्र । कोरोना भाइरसको घाटक संक्रमणबाट नागरिकलाई जोगाउनका लागि नेपाल सरकारले आरम्भ गरेको एक हप्ते लकडाउनको आज चौथो दिन हो ।

कोरोना संक्रमणको संभावनालाई निस्तेज पार्नका लागि सामूहिक भेटघाट र सम्पर्कलाई रोक्न शुक्रबार पनि देशभर सुनसान छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोगका कर्मचारी, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका संस्थाहरुका गाडीमात्र चलिरहेका छन् भने अरु गाडी भने चलाउन रोक लगाइएको छ ।

चैत्र ११ देखि आरम्भ भएको प्रथम चरणको यो लकडाउन चैत्र १८ सम्म कायम रहने छ । यस अवधिमा अति आवश्यक परेकोमा बाहेक घरबाहिर ननिस्कन पनि सरकारले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयको अनुमति बिना चलेका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर बेलुकीमात्रै छोड्ने गरेको छ ।

यस्तै कानुन अनुसार एक हजार रुपैयाँसम्म जरिबाना पनि तिराउने गरिएको प्रहरीले जनाएको छ । बिहीबार लकडाउन उल्लङ्घन गर्ने २ सय २५ वटा मोटरसाइकल र २८ वटा चार पाङग्रे गाडीसहित २ सय ५३ वटा गाडी नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोरोना सङ्क्रमण रोकथामको लागि लकडाउन गरिएकाले पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकालेआफू, आफ्नो सिङ्गो घरपरिवार र आफन्तको जीवन सुरक्षाको लागि लकडाउनका नियमहरुको पूर्णरुपमा पालना गर्न सरकारले आग्रह गर्दै आएको छ ।

Share Now

Leave a comment.