काठमाडौं, १४ चैत । नेपालमा लक डाउनको कारण फस्न पुगेका ३ सय ५ जना युरोपेली मुलुकका नागरिकहरु आज स्वदेश फिर्ता गएका छन् ।
नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजनाका लागि जर्मनीले चाटर्ड गरेको कतार एयरवेजको विमान केहीबेर अघि ३ सय ५ जना यात्रु लिएर त्यसतर्फ प्रस्थान गरेको छ ।
सो विमानमा १ सय ९० जना जर्मनी नागरिक र अन्य युरोपेली मुलुकका नागरिक रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभएको छ ।
बिहिबार मात्र नेपाल स्थित फ्रान्सेली राजदूतावासले बुद्ध एयरको जहाज चार्टर गरी लकडाउनका कारण पोखरामा फसेका फ्रान्सेली पर्यटकलाई उद्दार गरी काठमाडौं ल्याएको थियो ।
यस्तै लुक्लासहित सगरमाथा क्षेत्रमा अलपत्र परेका १९ पर्यटकको पनि उद्धार गरी हिजै काठमाडौं ल्याइएको थियो ।
उद्धार गरिएकामा एक नेपाली र १८ विदेशी रहेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले दिएको अनुसार १४ फ्रान्सेली पर्यटक तारा एयरबाट काठमाडौं ल्याइएको थियो भने डाइनेस्टिक एयरको हेलिकप्टरमार्फत दुई र सिम्रिक एयरको हेलिकप्टरमार्फत तीन जनाको उद्धार गरिएको थियो ।
लुक्लामा अझै करिब १ सय ५० को हाराहारीमा पर्यटक रहेको अनुमान गरिएको छ।