काठमाडौं, १४ चैत्र । नेपाल विद्युत् प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनकोअध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जामन्त्री पुनले बताउनुभएको छ।
लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत महसुलमा छुट गर्न लागिएको मन्त्री पुनको जिकिर छ। उहाँले ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने स्पष्ट पार्नुभएको छ ।
‘एकातिर विद्युतको माग घटेर गएको छ भने अर्कातिर ग्यासको अभाव देखिएको छ’, मन्त्री पुनले भन्नुभयो, ‘यो ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने उपयुक्त अवसर हो।’
बाहिरबाट आयात गर्नुपर्ने ग्यासको सट्टामा आफ्नै प्राकृतिक स्रोतबाट उत्पादित जलविद्युतको उपयोगलाई इलेक्ट्रिक कुकिङमार्फत प्रवर्द्धन गर्दा अर्थतन्त्रमै सकारात्मक असर पर्ने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभएको छ।
‘नाकाबन्दीका बेला पनि ग्यासको हाहाकार भयो। अहिले पनि अभाव देखिएको छ’, मन्त्री पुनले भन्नुभयो , ‘बिलुजी जस्तोसुकै संकटमा पनि आउँने भएकाले स्विच थिचेपछि खाना पाक्छ।’
३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजस्वमा ५० करोड नोक्सान हुन्छ।
तर यो रकम खेर गएको विद्युतलाई उपयोग गरेर तथा आयातित ग्यासलार्ई विस्थापित गरेर पूरा गर्न सकिने उहाँको विश्वास छ । गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रवद्र्धन गर्न तथा लकडाउनका समयमा उपभोक्तालाई राहत दिने गरी विद्युत महसुलमा छुट दिने निर्णय गरेको थियो।
नेपालमा १ मासिक १ सय ५० युनिटसम्म विद्युत खपत गर्नेको संख्या अधिक छ। कुल ३८ लाख घरासयी ग्राहकमध्ये झण्डै २७ लाखले १ सय ५० मेगावाटभन्दा कम बिजुली प्रयोग गर्दै आएका छन्।
लकडाउनका कारण विद्युत खपतमा भारी गिरावट आएको छ। विद्युत बढी खपत हुने उद्योगधन्दा, कलकारखाना, बिजनेस कम्प्लेक्स, होटल, सिनेमा घर, कार्यालयहरु बन्द भएकाले त्यस्तो अवस्था आएको हो।