Prakash Adhikari March 28, 2020

वाशिंटन डीसी(बीबीसी), १५ चैत्र । अमेरिकी संसदले कोरोना भाइरसको संक्रमणको कारण देशको स्वास्थ्य क्षेत्र र समग्र अर्थतन्त्रमा परेको असरलाई न्यूनीकरण गर्दै पुन आर्थिक गतिविधिहरु सुचारु गर्ने उद्देश्यले २२ खर्ब डलर बराबरको राहत तथा उद्धार ऐन पारित गरेको छ ।

अमेरिकी संसदको इतिहासकै सबैभन्दा ठूूलो यो राहत प्याकेजको कार्यक्रम र बजेटलाई संसदमा सत्तारुढ रिपब्लिकन र प्रतिपक्षी डेमोक्र्याटिक दुवै पार्टीका सांसदहरुले एकै स्वरमा ध्वनि मतले पारित गरेका थिए ।

यसले लाखौ अमेरिकनहरुलाई बेरोजगारीको लाभ स्वरुप १२ सय डलर दिनेछ । जुन बार्षिक ७५ हजार डलर भन्दा कम आय हुनेहरुलाई पनि दिइनेछ । प्रति बालबच्चा ५ सय अमेरिकी डलर थप सहयोग दिइनेछ । साना ठूला व्यवसायीलाई कर्जा,अनुदान र करमा छुट दिनेछ । साथै राज्य र स्थानीय सरकारहरु र देशको स्वास्थ्य क्षेत्रको सुधारलाई लाखौ डलरको सहयोग प्रवाह गर्न सघाउने छ ।

संसदले पारित गरेको बिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार नै हस्ताक्षर गरी प्रमाणित गर्नुभएको छ । अमेरिकी संसदले पारित गरेको केही घण्टामा नै उहाँले आफ्नोे ओभल अफिसमा सो राहत र उद्धार प्याकेजको बिलमा हस्ताक्षर गर्नुभएको थियो । यो बिललाई अमेरिकी सिनेटले सर्वसम्मतिले पारित गरेको दुई दिनभन्दा कम समयमा अमेरिकी प्रतिनिधिसभाबाट पारित गरी राष्ट्रपतिबाट प्रमाणित गरिएको हो ।

यो प्याकेजमा साना व्यवसायलाई संघीय सरकारको प्रत्याभूति ३ खर्ब ७७ अर्ब डलर कर्जा, संकट प्रभावित विमान कम्पनीहरुसहितका उद्योगहरुको राहत र पुनरुत्थानको लागि ५ खर्ब र अग्ररेखामा परेका अस्पतालहरुको सहयोगको लागि १ खर्ब डलर खर्च हुनेछ ।

Share Now

Leave a comment.