लण्डन(संयुक्त अधिराज्य), १५ चैत्र(बीबीसी) । कोरोनाभाइरस सङ्क्रमण सुरु भएयता इटलीमा एकदिनमा अहिलेसम्मकै सबभन्दा उच्च – ९१९ जनाको मृत्यु भएको छ।
इटलीमा मात्रै ९ हजार भन्दा बढीको उक्त भाइरसका कारण अहिलेसम्ममा ज्यान गएको छ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङक्रमितहरूको जीवन बचाउन आवश्यक पीपीइको विश्वव्यापी रूपमै अभाव रहेको बताएका थिए।
इटली युरोपमा सबभन्दा नराम्ररी प्रभावित मुलुक हो। त्यहाँ सबैजसो कुरा बन्द गरिएका छन् र मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ।
शुक्रवार सबेरै अधिकारीहरूले सबै कुरामा लगाइएको कडाइ ३ एप्रिल भन्दा अझ बढी समयका लागि बढाउन सकिने चेतावनी दिएका थिए।
सबभन्दा प्रभावित क्षेत्र
सबभन्दा प्रभावित उत्तरी क्षेत्रमा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या अत्यधिक बढी थियो।
लोम्बार्डीमा मृत्यु हुनेको सङख्या ह्वात्तै बढेको छ
नयाँ सङ्क्रमित हुनेको सङ्ख्या बिहीवार केही घटेकाले सङ्क्रमण उच्चतम बिन्दुमा पुगेको हुन सक्ने भन्दै केही आशा जगाएको थियो।
इटलीमा अहिलेसम्म ८६ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ।
तुलनात्मक रूपमा गरिबी धेरै भएको दक्षिणी क्षेत्रमा सङ्क्रमण बढ्दै गएपछि त्रास पनि बढेको छ।
क्याम्पानिया क्षेत्रका अध्यक्ष भीन्सेन्टो डी लुसाले बिहीवार केन्द्र सरकारले जीवन बचाउनका लागि आवश्यक भेन्टिलेटर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे पनि त्यो पूरा नगरको बताएका थिए।
उनले भने, “अहिलेसम्मको स्थिति हेर्दा दक्षिणले पनि लोम्बार्डीकै त्रासदी भोग्नुपर्ने जस्तो देखिएको छ।”
त्यसैदिन प्रधानमन्त्री जुजुपे कोन्टेले अब युरोपमा गम्भीर आर्थिक मन्दी हुने बताएका थिए। उनले २७ अर्ब डलर बराबरको दोस्रो सहायता प्याकेज घोषणा गरेका थिए।
बीबीसी संवाददाता मार्क लोवेनको विश्लेषण
इटलीका बासिन्दाका लागि यो दैनिक सङ्घर्षको कुरा भएको छ। यस्तो लाग्छ मुलुकले एउटा गाउँको जनसङ्ख्या दिनदिनै गुमाउँदै गइरहेको छ। गत २४ घन्टामा मात्रै लोम्बार्डी क्षेत्रमा ५४१ जनाको मृत्यु भयो। यसले बिस्मयकारी अवस्था पैदा गरेको छ।
सुरुङको अन्त्यमा उज्यालो देख्न कठिन भएपनि त्यसका आधार भने छन्: नयाँ सङ्क्रमण दर कम हुँदैछ। तर दुई हप्तादेखिको राष्ट्रिय लकडाउन कारण प्रगति सुस्त छ र सबैतिर बराबरी प्रगति छैन। अनि दिक्कलाग्दा समाचारहरू आइरहेका छन्: ४६ जना डाक्टरले सङ्क्रमण सुरु भएयता ज्यान गुमाएका छन्।
के स्पष्ट छ भने- नियन्त्रणका उपायहरू बढाइनुपर्छ- राष्ट्रिय स्वास्थ्य परिषद्ले त्यो महिनौँसम्म गर्नुपर्ने हुनसक्ने जनाएको छ। त्यसले यहाँ मात्रै चिन्ता जन्माउने होइन, किनभने सर्वत्र बन्दाबन्दीले इटलीको अर्थतन्त्र ध्वस्त पारेको छ र इटलीको जस्तै बन्दाबन्दीको नमुना अपनाएका अरू देशमा पनि त्यस्तै हुन सक्छ।
इटली सङ्क्रमण र बन्दाबन्दीमा बाँकी युरोपभन्दा दुई साताले अगाडि रहँदै आएको छ। त्यसैले इटलीमा जे हुन्छ त्यो अरूले नजिकबाट नियाल्नेछन्।
बाँकी युरोपमा के भइरहेको छ?
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन पश्चिमा मुलुकका नेतामध्ये पहिलो कोरोनाभाइरस सङक्रमित हुने व्यक्ति बनेका छन्। उनले आफूमा ‘सामान्य खाले लक्षण’ भएकाले डाउनिङ स्ट्रिटमा एक्लिएर बस्ने र सरकारको नेतृत्व भिडिओ कन्फरेन्स मार्फत् गरिरहने बताएका छन्।
स्पेन- युरोपको दोस्रो सबभन्दा प्रभावित मुलुक स्पेनमा मृत्यु हुनेको सङख्या धेरै भएपनि नयाँ सङ्क्रमणको दर भने स्थिर बनेको अधिकरीहरूले बताएका छन्। त्यहाँ एप्रिल १२ सम्मका लागि सङ्कटकाल लम्ब्याइएको छ।
फ्रान्स- शुक्रवारसम्ममा कोरोनाभाइरस सङ्क्रमणका कारण करिब दुई हजार जनाको ज्यान गएको छ। करिब ३३,००० मानिसमा सङक्रमण पुष्टि भएको छ। त्यहाँ एप्रिल १५ सम्म मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ।
अनि बाँकी विश्वमा?
अमेरिका सबभन्दा धेरैजनामा कोरोनाभाइरस सङक्रमण पुष्टि भएको देश बनेको छ। न्यूयोर्क टाइम्सले अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १ लाख बढी पुगेको र यसबाट मृत्यु हुनेको संख्या पनि १५ सय नाघेको उल्लेख गरेको छ । देशभरमा कोभिड -१९का कारण १,५०० जतिको मृत्यु भएको छ। न्यूयोर्क सिटी कोरोनाभाइरस सङक्रमणको केन्द्रबिन्दु बनेको छ। न्यू ओर्लिएन्स, शिकागो र डीट्रोइटका मेयरहरूले त्यहाँको परिस्थिति ‘गम्भीर’ बनेको बताएका छन्।
कोरोनाभाइरस सङ्क्रमण सुरु भएको देश चीनले प्रवेशाज्ञा वा बसोबास अनुमति भएपनि सबै विदेशीमाथि अस्थायी प्रतिबन्ध लगाएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा ५,४०,००० जनामा कोरोनाभाइरस सङक्रमण भएको छ। २४,००० जनाको ज्यान गएको छ र १,२४,००० मानिसहरू निको भएका छन्।